प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भयो : सभापति देउवा

१४ असार २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाएका छन् ।  सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई शनिबार सम्मान गर्दै उनले प्रेसलाई कमजोर बनाउनु मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउनु भएको उनको भनाइ छ ।

सम्मानित हुनेमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, सामुदायिक वनका अभियन्ता निलप्रसाद भण्डारी, पूर्व प्रशासक नेत्रबहादुर कार्की, शिक्षासेवीद्धय अञ्जु खड्का र मोहन कोइराला तथा गीत सङ्गीत क्षेत्रका प्रतिभा आयुष केसी छन् ।

समारोहमा बालप्रतिभा केसीलाई प्रेरणा दिन गाउँपालिकाको तर्फबाट रु दुई लाख नगद प्रदान गरियो । पूर्वप्रधानमन्त्री देउवाले भने– “सरकारले जनतालाई ठूलो करको भार थोपरेको छ, यसबाट जनताले निकै सास्ती खेप्नु परेको छ ।” लोकतन्त्र र संविधानले सुनिश्चित गरेका गतिविधिलाई अँकुश लगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले नेपाली कांग्रेसको नेतृत्वमा रहेका स्थानीय तहमा जनतालाई आर्थिक भार पर्ने कुनै पनि कर नलगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिए । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया