विष्णु कँवर उर्फ ‘धर्ती माता’लाई ७ दिन हिरासतमा राख्न म्याद थप

प्रकाशित मिति:

काठमाडौं – आफूलाई ‘धर्ती माता’ भन्ने विष्णु कँवर विरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिन हिरासतमा राख्न म्याद थप गरेको छ । सार्वजनिक ठाउँमा महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा शुक्रबार बिहान पक्राउ परेकी थापामाथि अनुसन्धान गर्न आइतबार ७ दिनको म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कुवरले केही दिन अगाडि काठमाडौंको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएकी थिइन् । आफूमा दैविक शक्ति रहेको भन्दै कुँवरले युवतीलाई गाली गलौच गरेर युवतीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।यद्यपि कुँवरबाट अभद्र व्यवहार पाएकी (कुटिएकी) युवतीले भने प्रहरीमा उजुरी दिएको छैन । सार्वजनिक स्थानमा महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको हो ।