आइफाका लागि ४४ करोड बजेटबारे अर्थमन्त्री बेखबर, आइफा टिमले माग्यो १०० लक्जरी कार र स्वीट रूम

प्रकाशित मिति:

काठमाडौं – निजी क्षेत्रको भारतीय इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) समारोह काठमाडौंमा नेपाल सरकारले ‘प्रायोजन’ गर्ने र यसका लागि तत्काल ४४ करोड रुपैयाँ दिनेबारे अर्थ मन्त्रालय ‘बेखबर’ रहेको मन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।‘मैले पनि आइफा अवार्डलाई नेपाल सरकारले पैसा दिन लागेको भन्ने पढेर थाहा पाएँ,’ अर्थमन्त्रीले भने, ‘पैसा दिनेबारेको प्रस्ताव अर्थ मन्त्रालयमा आएको छैन । नेपाल पर्यटन बोर्ड वा महानगरपालिकाले पैसा दिएको भए त्यो सरकारको कुरा होइन ।’

काठमाडौंमा शनिबार आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ सहभागी खतिवडालाई आइफा अवार्डमा सरकारले दिन लागेको रकम र सहुलियतबारे दलसम्बद्ध नेताहरूले मञ्चबाटै प्रश्न गरेका थिए ।‘नेपाल सरकारले झन्डै १ करोड रुपैयाँ भारतीय फिल्मकर्मीको हितमा दिएपछि कसरी ‘राष्ट्रवाद’ को बचावट गर्न मिल्छ रु यो हाम्रो सफ्ट–पावरको उपयोग हो कि दुरुपयोग ?,’ कार्यक्रममा नेकपा नेता एवं पूर्व गृहमन्त्री भीम रावलले मन्त्री खतिवडालाई सोधेका थिए ।

राप्रपा नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पनि राणाशाही शैलीमा ‘हाम्रा हजुरबाट लौ दिएँ’ भन्दै भारतीय फिल्मी अवार्ड समारोहलाई १ करोड रुपैयाँ दिनु आफैंमा लाजमर्दो रहेको टिप्पणी गरे । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विदेशी फिल्म प्रवर्द्धनमा नेपाल सरकारले आयोजक बनेर पैसा खर्चनुको अर्थ नरहेको बताए ।नेता रावलले ट्वीटमार्फत पनि आइफा आयोजना गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन् । ‘भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाका लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ,’ रावलले ट्वीट गरेका छन्, ‘यस्ता काम कसको उक्साहट र स्वार्थमा कसले किन गर्छ होला । नेकपाको स्थायी कमिटी बैठक भए जान्न पाइन्थ्यो कि ?’

१०० लक्जरी कार र स्वीट रूम माग – यसैबीच भदौको दोस्रो साता काठमाडौंमा आयोजना गर्न लागिएको आइफाको २० औं संस्करणमा आउने विशिष्ट पाहुनाका लागि सुविधायुक्त गाडी, होटललगायत सुविधा माग भएको छ । आइफा टिमलाई एक सय लक्जरी कार, होटलका १ सय ‘स्वीट रुम’ माग भएको स्रोतले बतायो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।