एक वर्ष नहुँदै चुहिन थाल्यो भारतले बनाएको विश्वकै सबैभन्दा अग्लो शालिक

प्रकाशित मिति:

काठमाडौं – भारतले बनाएको विश्वको सबैभन्दा अग्लो शालिक ‘स्ट्याच्यु अफ युनिटी’ पहिलोपटकको पानीमा नै चुहिन थालेको छ । गुजरातको केवडियामा बनेको सरदार वल्लभभाइ पटेलको यो शालिक १ सय ८२ मिटर अग्लो छ । यसलाई बनाउन ३० अर्ब भारु खर्च गरिएको थियो । यो प्रतिमाको १ सय ५३ मिटरको उचाइमा एक भ्युइंग ग्यालरी छ । यहाँबाट एकपटकमा करीब २ सय मानिसले आसपासको मनोरम दृश्यको आनन्द लिन सक्छन् । यो स्थानमा नै पानी चुहिने समस्या देखिएको दाबी गरिएको हो । यसको निर्माण तथा मर्मतसम्भारको काम लार्सन एण्ड टुब्रो कम्पनीले गर्दै आएको छ ।

नर्मदा जिल्लाका कलेक्टर आईके पटेलले प्रतिमाको केही हिस्सामा पानी चुहिने समस्या देखिएको र त्यसलाई समाधानको प्रयास जारी रहेको बताएका छन् । भ्युइंग ग्यालरीको डिजाइन नै वर्षाको पानी आउने किसिमको रहेको र यसलाई बन्द गरिए यहाँबाट मनोरम दृश्य देख्न नसकिने अधिकारीको भनाइ छ । यसमा कुनै प्रविधिक गडबढी नरहेको बताइएको छ ।

प्रशासनका अनुसार अहिलेसम्म नर्मदा जिल्लाको गरुडेश्वर तालुकामा भारी वर्षा भएको छैन । थोरै वर्षामा पनि यस किसिमको समस्या देखिएकोमा जानकारले ध्यानाकर्षण गराएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष यो प्रतिमाको अनावरण गरेका थिए । यहाँ उल्लेख्य मात्रामा पर्यटक घुम्नका लागि आउने गरेका छन् । गत वर्ष १३ नोभेम्बरमा विहारका उपमुख्यमन्त्री सुशील मोदी यसलाई हेर्न गएका थिए । त्यतिबेला अचानक बिजुली गएकाले उनी लिफ्टमा अड्किएका थिए ।
फाइल तस्बिर