बेलहिया नाकाबाट मात्रै साढे दुई खर्बको व्यापार घाटा

प्रकाशित मिति:

लक्ष्मण पौडेल/भैरहवा – चालु आर्थिक वर्षको ११ महिनामा रुपन्देहीको बेलहिया नाकाबाट मात्रै झण्डै साढे दुई खर्वको व्यापार घाटा भएको छ । आर्थिक वर्ष २०७५÷७६ को तथ्याङ्क हेर्दा निर्यातको तुलनामा करिव साढे दुई खर्व बढीको आयात भएको हो ।बेलहिया भन्सार कार्यालयले उपलव्ध गराएको तथ्यांक अनुसार गत जेठ मसान्तसम्म यो नाकाबाट दुई खर्व ४६ अर्ब २५ करोड २९ लाख ७३ हजार नौ सय ७६ रुपियाँको विभिन्न मालवस्तु आयात भएको छ । तर यो ११ महिनाको अवधिमा बेलहिया नाकाबाट निर्यात भने चार अर्ब तीन करोड २८ लाख छ हजार ६४ रुपियाँको मात्रै भएको छ ।

भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलका अनुसार स्वदेशी उत्पादनमा बृद्धि नहुँदा बेलहिया नाकाबाट निर्यातको तुलनामा आयात अत्यधिक बृद्धि भएको हो । चालु वर्षको ११ महिनामा निर्यातको तुलनामा आयात दुई खर्ब ४२ अर्ब २२ करोड १६ लाख रुपियाँले बढी देखिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष निर्यातको तुलनामा आयात दुई खर्व १० अर्ब रुपियाँको हाराहारीमा थियो ।

बेलहिया नाका हुँदा भारतीय मालबस्तु सबैभन्दा बढी मात्रामा भित्रिने गर्छन् । भारतीय मालवस्तुको तुलनामा तेस्रो मुलुकबाट भित्रिने मालवस्तु भने अत्यन्तै न्युन छन् । भन्सारका सूचना अधिकृत पौडेलका अनुसार कुल आयातको ९७ प्रतिशत भारतबाट मात्रै हुने गरेको छ । बाँकी ३ प्रतिशत आयात भने चीन लगायत तेस्रो मुलुकबाट हुने गरेको पौडेलले जानकारी दिनुभयो । “स्वदेशी उत्पादन बढाउन नसक्दा हामी परनिर्भर बन्दै गएका छौं, आयात निर्यातको तथ्यांकले वर्षेनी व्यापार घाटा बढ्दै गइरहेको देखाउँछ”–उहाँले भन्नुभयो । चालु आर्थिक वर्षमा आयातबाट ७४ अर्व १८ करोड ८९ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ भने निर्यातबाट ४८ लाख ७४ हजार तीन सय ७५ रुपियाँ मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।

भन्सारका अनुसार दैनिक उपभोग्य र विलासिताका वस्तुको आयात वर्षेनी बढिरहेको छ । व्यापार घाटा कम गर्नका लागि खाद्यान्न आयातमा कडाई गर्नुपर्ने सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताउनुभयो । “निर्यातमुखी उत्पादनमा जोड दिएमात्रै आयात कम गर्न सकिन्छ र व्यापार घाटा कम हुन्छ”–उहाँले भन्नुभयो ।

बेलहिया नाकाबाट चालु आर्थिक वर्षमा मोटरसाईकल, एमएस बिलेट, ग्लेज टायल, मार्वल, स्ल्याव, पत्थर कोईला, चुईगम, सिंगल क्याव पिकअप गाडी, खरानी स्लाव, तयारी कपडा, जर्दाखैनी, रेफ्रिजेरेटर, ग्लाससिट, पेट्रोल, विभिन्न सावुन लगायतका मालवस्तुको आयात विगत भन्दा बढेको छ । खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आयात पनि बढेको सूचना अधिकृत पौडेलले बताउनुभयो । बेलहिया नाका हुँदै डोजर स्क्याभेटर, मिनि ट्रक, जिप, कार, भ्यान, क्लिंकर, विद्युतीय जेनेरेटर, चिनी, माईक्रोबस, चकलेट, प्लाष्टिक बोत्तल, कंक्रिट मिक्सचर मेसिन लगायतका वस्तुको आयात बिगत भन्दा केही घटेपनि मूल्य भने बढेको छ ।

बेलहिया भन्सार कार्यालयले यस वर्ष भन्सार विभागले तोकेको राजस्व लक्ष्य पनि पूरा नगर्ने देखिएको छ । ११ महिनाको तथ्यांक हेर्दा कुल लक्ष्यको ७८ दशमलव ७३ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । अव असार महिनामा बाँकी २१ द्यशमलव २७ प्रतिशत लक्ष्य भेटाउन मुस्किल हुने देखिएको छ । ११ महिनामा बेलहिया भन्सारले ७४ अर्व १८ करोड ८९ लाख राजस्व संकलन गरेको छ । असार सम्म लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गरिने र यो अघिल्लो वर्षको भन्दा बढी हुने सूचना अधिकृत पौडेलले बताउनुभयो ।- गोर्खापत्र