दलाल पुँजीपतिहरुलाई विस्थापित गर्नुका साथै कानुनी दायरामा पनि ल्याउनुपर्नेमा पर्यटन मन्त्रिको जोड

प्रकाशित मिति:

प्रदेश नंं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले राज्यलाई राष्ट्रिय पुँजीको पक्षमा काम गर्ने उद्योगी व्यवसायीको आवश्यकता रहेको बताउनु भएको छ । उहाले दलाल पुँजीपतिहरुलाई विस्थापित गर्नुका साथै कानुनी दायरामा पनि ल्याउनुपर्नेमा जोड दिनु भयो । उद्योग व्यापार संगठन रुपन्देहीले आयोजना गरेको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री गिरीले उद्योगी व्यवसायीको संगठन निर्माण गर्दा राष्ट्रिय पुँजीको चिन्ता गर्नुका साथै आम उपभोक्ताको बारेमा समेत चिन्तन गर्नुपर्ने कुरामा जोड दिनु भयो । उँहाले खासगरी व्यवसायिक संगठनले व्यवसायलाई स्वच्छ बनाउनुपर्ने बताउनु भयो । राष्ट्रिय गौरवका आयोजनाको सन्दर्भमा प्रदेश सरकारले चासो लिएर आयोजना प्रमुखहरुलाई बोलाएर छलफल गरेको उँहाको भनाइ थियो ।उहांले विभिन्न आरोह अवरोह पार गर्दै उद्योग व्यापार संगठन रुपन्देहीले छोटो समयमा उद्योगी व्यवसायीमाझ लोकप्रिय भन्न सफल भएको भन्दै प्रशंसा गर्नु भयो । कार्यक्रममा संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले उद्योगी व्यवसायीको हकहितको लागि आवाज उठाउँदै आएको संगठनले पर्यटन प्रबर्धनका लागि मेला महोत्सवहरुको आयोजना गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई पनि निरन्तरता दिइरहेको बताउनु भयो । उहाले यस क्षेत्रको विकासको लागि प्रदेश सरकारले विशेष चासो लिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरका अध्यक्ष माधव ढुंगानाले भैरहवा बासीले लोडसेडिङ्गको अन्त्य भएको अनुभुति अहिले सम्म पनि गर्न नसकेको बताउनु भयो ।