नेकपाले छाड्यो जबज

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन्। पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एउटै मञ्चबाट जनताको जनवादमा जाने बताएका हुन्। तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काईसौं शातब्दीको जनवाद दुवैलाई छाड्दै नेकपाले जनताको जनवादलाई कार्यदिशा बनाएको हो।

अध्यक्षद्वयले जबजको सारतत्व र विशेषतालाई आधार मानेर पार्टीको कार्यदिशा जनताको जनवाद अंगीकार गरिएको बताएका हुन्। मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओली र दाहालले सामाजवादसम्म पुग्ने लक्ष्य जबजकै हो तर त्यसको नाम जनताको जनवाद राखिएको बताए।

भण्डारीले प्रतिपादन गरेको जबजको कार्यदिशाबाट तत्कालीन एमाले संसदीय राजनीतिमा अवतरण गरेको थियो।
ओलीले भण्डारी सिद्धान्तको पिन्जडाभित्र बस्न मान्नुहुँदैनथ्यो भन्दै अहिले पनि उहाँले नै तयार पारेको जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोग भइरहेकाले त्यसकै आधारमा सामाजिक न्याय, समानताको हक, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेसजस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा रही समाजवादसम्म पुग्ने लक्ष्य राखिएको बताए। ओलीले भण्डारीकै सिद्धान्तका आधारमा नेपाली समाज अग्रगामी परिवर्तनको दिशामा अघि बढिरहेको दाबी गरे। ‘हामी बहुदलीय जनवादको विशेषताभन्दा टाढा जान सकिएको छैन, त्यसको नाम मात्र जनताको जनवाद राखिएको हो,’ ओलीले भने।

हामी बहुदलीय जनवादको विशेषताभन्दा टाढा जान सकिएको छैन, त्यसको नाम मात्र जनताको जनवाद राखिएको हो।
केपी ओली, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री कार्यक्रममा अर्का अध्यक्ष दाहालले शान्तिपूर्ण जनसंघर्ष, बहुदलीय प्रतिस्पर्धामार्फत आफ्ना कार्यक्रम राख्ने र समावेशी, समानुपातिक मान्यतालाई अघि सारेको बताए। पार्टीभित्र कार्यदिशाको बहस चलिररहेका बेला अध्यक्ष दाहालले भने, ‘मदन भण्डारी सिद्धान्तलाई सिर्जनात्मक प्रयोग गर्ने व्यक्ति हुनुहुनथ्यो। कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन जनताको बहुदलीय जनवादको भूमिका छ। हामी त्यसको जगमा उभिएर, विशेषतामा आधारित भएर जनताको जनवादमार्फत समाजवादको लक्ष्यमा पुग्नेछौं।’

दसैंसम्म सरकारको आलोचना सकिन्छ : प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले दसैंसम्म सरकारले जनताले चाहेअनुसारका काम गर्ने भन्दै त्यसपछि आलोचना हुने दिन नआउने बताए। उनले अहिले सरकार काममा व्यस्त भएको र त्यसबारे जानकारी गराउन नपाउँदा सरकारको आलोचना भइरहेको भन्दै दसैंंसम्म आलोचना गर्ने ठाउँ नै बाँकी नरहने बताएका हुन्।

‘म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लाएर हिँड्थे, अहिले मास्क लगाउने कोही नै देखिँदैन,’ ओलीले भने। हजार किलोमिटरभन्दा बढी सडक स्तरोन्नति भएकोे दाबी पनि उनले गरे। सरकारले द्रुत गतिमा काम गरिरहेको दाबी गर्दै उनले थपे, ‘गएको वर्ष र अहिले दाँजेर हेर्नुहोस्।’ उनले एक वर्षमा मुलुकभर चार सय झोलंगे पुल बनेको र इतिहासमै सबैभन्दा बढी बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको दाबी गरे।

कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन जबजको भूमिका छ। हामी त्यसको जगमा उभिएर जनताको जनवादमार्फत समाजवादमा पुग्नेछौं। पुष्पकमल दाहाल, अध्यक्ष, नेकपा उनले एक वर्ष थुप्रै कानुन निर्माण र संशोधन तथा संघीयताअनुसारका पूर्वाधार तयारीमै खर्च भएको बताए। ओलीका अनुसार यो वर्ष संघीयता कार्यान्वयनको आधार वर्ष हो। ओलीले सरकारले राम्रो काम गर्दै आएको र आगामी आर्थिक वर्षमा नयाँ उत्साहका साथ अघि बढ्ने स्पष्ट पारे। ओलीले पार्टी एकीकरणका बाँकी काम असारभित्र भइसक्ने जानकारी दिए। ‘एकतामा भएको ढिलाइबाट केही आंशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरीसमेत भयो तर आर्थिक वर्षको समाप्तिसँगै एकीकरणको काम पूरा हुनेछ’, उनले भने।

अर्का अध्यक्ष दाहालले मदन भण्डारी हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता ठूला घटनाको कारण पत्ता लगाउन नसकिएको बताए। आफू पहिलोपटक प्रधानमन्त्री भएपछि नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाइछाड्छु भनेको तर, अहिलेसम्म नसकिएको भन्दै उनले भने, ‘आखिर के ले दिँदैन ? जनताले नदिएको पक्कै होइन। सरकारमा हामी नै छौं तर यस्तै भएको हो भन्न सक्ने ठाउँमा पनि छैनौं।’ बरु अहिले त हत्याकाण्डको यथार्थ पत्ता लगाउनुको साटो यसै ठीक हुन्छ जस्तो गरेर पन्छाउन थालिएको हो कि भन्ने आशंका पनि गरे। ठूला हत्याकाण्डको कारण पत्ता लगाउन नसक्दा फेरि त्यस्तो घटना हुँदैन भन्ने सुनिश्चित गर्न नसकिएको भन्दै दाहालले भण्डारीको दुर्घटनाका प्रत्यक्ष साक्षी एकजना मात्रै भएको र तर उनको पनि हत्या हुन पुगेको बताए।

दाहालले पार्टी सुदृढ पार्ने, सरकारलाई सफल पार्ने, जनआकांक्षा सम्बोधन गर्ने कुरामा असफल भइयो भने नेपाल कम्युनिस्ट पार्टीको मात्रै असफलता नहुने त्यसले सिंगो नेपालसमेत खण्डित हुनसक्ने बताए। उनले कम्युनिस्ट नेतृत्व असफल भएमा कांग्रेसले समेत नेतृत्व गर्ने स्थिति नआउने दाबी गरे। ‘कांग्रेसले कम्युनिस्ट पार्टी झगडा गरेर फुटिदिएदेखि हाम्रो पालो आउँछ भन्ने सोच्दै नसोचे हुन्छ’, उनले भने।कार्यक्रममा नेपाली कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनताका अपेक्षा पूरा गर्न नसकेको बताए। कांग्रेस स्थिरताका पक्षमा रहेको तर नेकपाभित्रकै खैलाबैलाले सरकारले गति लिन नसकेको उनको भनाइ थियो। उनले सरकारले द्वन्दपीडितलाई न्याय दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।