राजमार्ग खुलाउन प्रहरीले चलायो गोली, एकको मृत्यु, दर्जन घाइते

प्रकाशित मिति:

जनकपुर — खाल्डोमा डुबेर बालकको मृत्युपछि आक्रोशित स्थानीयले सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झडपमा स्थानीय र प्रहरीसहित १ दर्जन घाइते छन् । ४ जना स्थानीयलाई गोली लागेको छ । बाँके खोलाबाट बालुवा–गिट्टी झिक्दा भएको खाल्डोमा डुबेर एक १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले आइतबार अपरान्ह पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न पुगेका थिए ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार राजमार्ग खुलाउने क्रममा प्रहरीले हवाइ फायर गर्दा सर्लाही, इश्वरपुर–१३ बस्ने २७ वर्षका केवल महतोको मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । इश्वरपुर नगरपालिका–१३ गौरीशंकरस्थित बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर लाले रायका छोरा अमितको दिउँसो मृत्यु भएको थियो । उनको मृत शरिर आइतबार मात्र फेला परेको थियो ।

आक्रोसित स्थानीयले ६ किलोमिटर टाढा पूर्व–पश्चिम राजमार्गमा शव लिएर प्रदर्शनमा उत्रिएपछि त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बाक्लो पारिएको थियो । प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रधुम्न कार्कीका अनुसार राजमार्ग अवरुद्ध हटाउन सुरक्षाकर्मीले धेरैपटक आग्रह गर्दा पनि प्रदर्शनकारी टुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर ढुंगामुढा गरेपछि सुरुमा लाठी चार्ज, १५ राउन्ड अश्रु ग्यास र रबरको बुलेट प्रहार गरेको थियो । त्यसपछि पनि प्रदर्शनकारीले ढंगामुढा तीव्र गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो । प्रहरीका अनुसार हवाइ फायरकै क्रममा गोली लागेर महतोको मृत्यु भएको हो ।

राजमार्गमा प्रदर्शनकारीको भिड अनियन्त्रित बनेपछि गोली प्रहार गर्नु परेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले बताए ।सर्लाही र महोत्तरीको सीमामा बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्दा बनेको गहिरो खाल्टोमा डुबेर स्थानीय खोलामा भइरहेको अवैध उत्खनन् बन्द गर्नुपर्ने, खोलाबाट गिट्टी बालुवा निकाल्दा बनेको खाल्टो पुर्नुपर्ने, बस्ती नजिकमा रहेको अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने, मृतक बालकका परिवारलाई उचित राहत दिनुपर्ने स्थानीयको माग छ । गोली प्रहारपछि प्रदर्शनकारी तितरवितर भएपछि अहिले राजमार्ग सुचारु भएको छ । -कान्तिपुर