मुलुकी अपराध ऐन २०७४ कार्यान्वयनमा बिज्ञहरुमै अन्यौलता रहेको सरोकारवालाको भनाई

प्रकाशित मिति:

सरकारले यहि भाद्र १ गते देखी लागु गर्न थालेको मुलुकी अपराध (संहिता) ऐन २०७४ कार्यान्वयनमा बिज्ञहरुमै अन्यौलता रहेको सरोकारवालाले बताएका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आयोजना गरेको ऐनको कार्यान्वयन सम्बन्धि छलफल तथा अन्तरक्रियामा सहभागीले सो बिचार व्यक्त गरेका हुन । करिब १ सय ६० बर्ष पछि मुलुकी ऐनलाई बिस्थापन गरि लागु गर्न थालिएको सो ऐन कार्यान्वयनमा सबै सरोकारवालाहरु बिचको समन्वय महत्वपुर्ण हुने निष्कर्ष निकालिएको हो । अपराध अनुसन्धान गर्ने प्रहरी, अभियोजन गर्ने सरकारी वकिल कार्यालय र न्याय प्रदान गर्ने अदालत बिचको सहकार्यले मात्रै ऐन पुर्ण रुपमा कार्यान्वयन हुन सक्ने सहभागीको निष्कर्ष थियो । ऐनमा रहेको अत्यन्त जरुरी पक्राउ पुर्जी जारी गर्ने जिम्मा अदालतको रहेका अवस्थामा सरकारी वकिल कार्यालय र अदालतले नियमित सेवा प्रवाह गर्नु पर्ने अवस्था आएको सहभागीले बताए । आफुहरुले ऐनको कार्यान्वयनकै लागी प्रहरी अधिकृत देखी प्रहरी जवान सम्मका ७ सय ६५ जनालाई ऐन बारे अनुशिक्षण गराएको कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी दिए ।ऐनका केहि नयाँ बिषयमा बिज्ञहरुमा अन्योलता रहे पनि ऐन कार्यान्वयनमा हुने सहकार्यले ति समस्याको निराकरण गर्दै जाने प्रजिअ अर्जुन प्रसाद पोखरेलले बताए । संहिताले मात्रै कार्य सम्पादन परिपुर्ण नहुने हुदाँ नियमावली र दिग्दर्शनले ऐन बारे थप स्पष्ट पार्दै लैजाने जिल्ला न्यायाधिस भरतमणी खनालको भनाई थियो ।