दलित बस्तीमा खानेपानीको समस्या बिक्राल

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल/स्याङ्जा – स्याङ्जाको बिरुवा गाउँपालिकाको एउटा सिङ्गो दलित बस्तीमा खानेपानीको समस्यामा छ । वर्षौँदेखि घण्टौ समय खर्चेर पानीको जोहो गर्नुपर्ने बाध्यता अहिलेपनि कायमै छ । सरकारले नागरिकका आधारभुत आवश्वक्ता पुरा गर्ने बताइरहे पनि जनताले भने खानेपानीकै लागि घण्टौ लगाउनु पर्ने बाध्यता हटेको छैन् । देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, धेरै परिवर्तन भयो तर, २५ घर रहेको पुष्प गाउँका दलित बस्तीमा भने कुनै तन्त्रले छोएको छैन । बिरुवा गाउँपालिका ५ साविकक किचनास गाविसको पुष्प गाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीको लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् ।

व्यवस्थामा परिवर्तन आए पनि यो गाउँका स्थानीयले डोकोमा पानी बोकेरै दैनिकी चलाइरहेका छन् । डोकोमा पानीको गाग्री बोकेर घर तर्फ आउँदै गरेकी ३६ वर्षीया सन्सारी बिकले भन्छिन्, “एक गाग्री पानी ल्याउनको लागि एक घण्टा लाग्छ ।” बिहान उठेर पानी लिन एक घण्टाको पैदलमा नागास्थान धारामा जानुपर्ने बाध्यता रहेको उनले बताईन् । “पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कुल पठाउन समेत समस्या हुने गरेको छ ।” स्थानीय मुक्तबहादुर बिक भने, “बिहान बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकोले खेती किसान गर्न समेत समस्या हुने गरेको छ ।” “त्यति टढाबाट ल्याएको पानी घरपरिवारले खाने की गाई भैसीलाई दिने ? उनले दुःखेसो पोखे ।“पानीको समस्याले गर्दा गाउँलेले धेरै दुःख भोगे पनि चुनावका बेलामा सबैले यो गर्छौँ, त्यो गर्छौँ, भन्छन् तर अहिले सहयोग गर्न कोही आएका छैनन् ।” किचनास आधारभुत विद्यालयकी शिक्षिका सुनिता सुनार भनिन्, “बिहान झिसमिसेमै उठेर पानी बोक्नु पर्ने भएकाले राम्रोसँग निद्रा समेत पुर्‍याउन पाईदैन् ।” बिहान पानी लिन जाने की घरको काम गर्ने निकै समस्या भएको छ, पानीकै कारण कहिलेकाहित विद्यालय जान समेत ढिला हुने सुनिताको भनाइ छ ।

“पानीको अभाबले गाउँमा सरसफाइको समस्या विकराल बन्दै गएको छ ।” स्थानीय युवा अजित क्षेत्री भन्छन्, किचनास सहित जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा त गरियो तर यहाँको अवस्था नाजुक छ ।” खानेपानीको समस्या हल गर्न आफूले लामो समयदेखि पहल गरेको क्षेत्रीले बताए ।पुष्प गाउँको दलित बस्तीमा खानेपानीको समस्या छिट्टै समाधान गर्ने बिरुवा गाउँपालिकका अध्यक्ष चुनप्रसाद शर्माले बताए । उनका अनुसार आफूले पहल गरिरहेको र मुलको समस्याले गर्दा केही ढिला भएपनि पुष्प गाउँका बासिन्दालाई पानी खुवाएरै छोडिन्छ ।