प्रहरी र विप्लव समूहबीच २० मिनेटसम्म दोहोरो भिडन्त भएपछी …

प्रकाशित मिति:

संखुवासभा – संखुवासभाबामा गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताबीच करिब २० मिनेटजति दोहोरो भिडन्त भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ‘लंग रेन्ज पेट्रोलिङ’ (गस्ती) टोली र विप्लव समूहबीच सोमबार बिहान संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा करिब २० मिनेट दोहोरो गोली हाना हान भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायररिङ शुरु गरेको हो । प्रहरी र विप्लव समूहबीच विहान ९ः५५ बजदेखि गोली हानाहान शुरु भएकोमा १०ः१५ बजेतरि विप्लव समूहका कार्यकर्ता तितरवितर भएका जनाइएको छ ।

दोहोरो गोली हानाहानमा भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । जिल्लाका विभिन्न क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको भन्दै केन्द्रको निर्देशनानुसार संखुवासभा प्रहरीले लामो दुरीको गस्ती (लंग रेन्ज पेट्रोलिङ) शुरु गरेको छ ।

यसै क्रममा असार १० गते (गत मंगलबार) जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव निरीक्षक (सई) टिकराम सुनारको कमाण्डमा ७ जनाको टोली खटिएको थियो । उक्त टोलीमा सशस्त्र प्रहरी बलबाट पनि सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा १० जनाको टोली खटिएको थियो । सोही टोलीमा प्रहरी चौकी सिसुवाटारबाट थप २ जना प्रहरी पनि खटिएका थिए ।‘एयिया क्लियर’ गर्ने अभियानअन्तर्गत १० जनाको टोली सोमबार बिहान संखुवासभाको सिलिङचोङ गाउँपालिकाको १ नम्बर वडामा पुगेको थियो ।

प्रहरी प्रधान कार्यालयले भने ‘एरिया क्लियर’ गर्ने क्रममा गस्तीमा रहेको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायर खोलेपछि प्रहरीले पनि जवाफी फायर खोलिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले दोहोरो गोली हानाहान भएको पृष्टि गरेको छ । यद्यपि गोली हानाहानका क्रममा कुनै भौतिक क्षति भए–नभएको विषयमा घटनास्थलबाट जानकारी प्राप्त नभएको जिप्रका स्रोतले जानकारी दिएको छ ।-प्रतिकात्मक तस्वीर