जापान- दक्षिण कोरियाबीच दोस्रो विश्वयुद्धको विवाद, कोरियामाथि प्रतिबन्ध

प्रकाशित मिति:

टोकियो (जापान) – जापानले दक्षिण कोरिया निर्यात हुने उच्च प्रविधिका सामग्रीमा प्रतिबन्ध लगाउने भएको छ । जुलाई ४ देखि जापानले दक्षिण कोरिया निर्यात हुने सामग्रीमा कडाइ गर्न लागेको हो । दोस्रो विश्वयुद्धमा भएको श्रम शोषणबारे देखिएको विवादको कारण जापानले यस्तो निर्णय गरेको हो । गत अक्टोबरमा दक्षिण कोरियाको सर्वोच्च अदालतले दोस्रो विश्वयुद्धको क्रममा जापानको निप्पोन स्टिलले जबर्जस्ती काममा लगाएका दक्षिण कोरियाली नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । जापानले भने यस विषयमा सन् १९६५ मा नै दुई मुलुकबीच सम्झौता भइसकेको बताउँदै आएको छ । यससँगै दुई मुलुकको सम्बन्धमा दरार आएको हो ।

अहिले जापानले ल्याएको योजनाअनुसार स्मार्टफोनको डिस्प्लेमा प्रयोग हुने फ्लेरिनेटेड पोलिमाइड र उच्च शुद्धताको हाइड्रोजन फ्लोराइडजस्ता सामग्रीमा दिइँदै आएको सहुलियत रोकिनेछ । यससँगै जापानी निर्यातकर्ताले दक्षिण कोरिया निर्यात गर्नुपूर्व सरकारको अनुमति लिनुपर्ने हुन्छ । सोमवार सरकारले आधिकारिक रूपमा यसको घोषणा गर्न सक्ने बताइएको छ । गत जनवरीमा जापानले दक्षिण कोरियासँग यस विषयमा वार्ताको माग गरेको थियो । दक्षिण कोरियाले भने त्यसको कुनै जवाफ दिएको थिएन ।