विप्लव समूहसँग दोहोरो भिडन्त भएको क्षेत्रमा केन्द्रबाट थप सुरक्षाकर्मी परिचालन

केन्द्रबाट नेपाल प्रहरीका १० र १५ गरी ३५ जनाको दुई छुट्टा–छुट्टै टोली र सशस्त्र प्रहरीको १५ जनाको टोली सिलिङचोङ–१ होयाङ्ग्ला पुगेको छ ।

प्रकाशित मिति:

काठमाडौं – सोमबार बिहान विप्लव समूहसँग दोहोरो भिडन्त भएको संखुवासभामा केन्द्रबाट थप सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले ३ खेप गरेर संखुवासभाको सिलिङचोङ गाउँपालिकामा ५० जना सुरक्षाकर्मी उतारेको छ ।

केन्द्रबाट नेपाल प्रहरीका १० र १५ गरी ३५ जनाको दुई छुट्टा–छुट्टै टोली र सशस्त्र प्रहरीको १५ जनाको टोली सिलिङचोङ–१ होयाङ्ग्ला पुगेको छ । होयाङ्ग्लामा अहिले नेपाली प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) शेखरजंग मल्लको कमाण्डमा २५ तथा अर्का प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा १० जनाको टोली खटिएको छ । यस्तै सशस्त्र प्रहरीबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) उमेष थापाको कमाण्डमा १५ जना सुरक्षाकर्मीको टोली होयाङ्ग्लामा पुगेको छ ।

नेपाली सेनाको हेलिकोप्टर, फाइल तस्वीर– नेशनल ज्योग्राफिकबाट