जागिर लगाईदिन्छु भन्दै ६१ लाख ठग्ने प्राधानाध्यापक प्रहरी कब्जामा

प्रकाशित मिति:

बारा – विद्यालयमा जागिर लगाइदिने बहानामा लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा–८ को श्री सामुदायिक विद्यालयका प्राधानाध्यापक ४३ वर्षीय अनिलकुमार ठाकुर छन् ।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार ठाकुरले विद्यालयमा शिक्षकको जागिर लगाइदिने आश्वसन दिएर प्रतिव्यक्ति दुईदेखि ५ लाख रुपैयाँसम्म लिएको उजुरी परेको थियो ।

उनले अहिलेसम्म जम्मा ६१ लाख १४ हजार ५ सय रुपैयाँ लिएर आफैं नियुक्ति पत्रसमेत दिइ लुकीछिपी बस्दै आएको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शिक्षकविरुद्ध प्रहरीले जिल्ला अदालत, बाराबाट ठगी मुद्दामा ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।