ब्रिटिश गोर्खा सत्याग्रह समितिले गर्ने आन्दोलनका कार्यक्रम स्थगित

प्रकाशित मिति:

बेलायत – बेलायत सरकारले विभेद गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनको कार्यक्रमहरु स्थगन गरेको छ । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले प्रधानमन्त्रीको बेलायत भ्रमणमा समकक्षी थेरेसा मेसँग पूर्वगोर्खाहरुको समस्याबारे संवाद गरेको र बेलायती पक्षले सकारात्मक रुपमा लिएको भन्दै आन्दोलनमा जाने निर्णय फिर्ता लिएको बताएको छ ।

पत्रकार सम्मेलनमा ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल च्याप्टरका संयोजक लाल बहादुर घिसिङले प्रधानमन्त्री ओलीको बेलायत भ्रमणमा भएको द्विपक्षीय संवादलाई सकारात्मक रुपमा लिएको भन्दै ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिलाई बेलायत सरकारले पत्र लेखेर पठाएको हुँदा हाललाई जुलाई १ बाट गर्ने भनेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी दिए । साथै संघर्ष समितिका नेपाल संयोजक घिसिङले नेपाल सरकारले विगतमा झैँ पहलकदमी लिने समयमा झारा टार्ने काम नगर्न चेतावनी पनि दिए ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल सरकारलाई ब्रिटिश गोर्खाका पूर्व सैनिकहरुको सम्बन्धमा बेलायत सरकारसँग वार्ता गर्न निर्देशन दिएको छ । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले समस्या समाधान गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्न पनि माग गरेका छन् ।