महिला र बालबालिकाका विषयलाई प्राथमिकता दिन आग्रह

प्रकाशित मिति:

बुटवल –संचारमाध्ययममा लैंगिकता, महिला र बालबालिकाका विषयलाई प्राथमिकता दिन सरोकारवालाहरुले आग्रह गरेका छन् । जनसंख्यामा ५२ प्रतिशत महिला र २५ प्रतिशत बालबालिका रहेपनि अहिलेसम्म संचारमाध्ययमले प्राथमिकताका नदिएको उनीहरुले बताए । यसले गर्दा सरकारी निकायको महिला बालबालिका लक्षीत नीति निर्माण, बजेट, योजना र कार्यान्वयनको पाटो समेत ओझेलमा परेको उनीहरुले बताए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि महिला र बालबालिकाका क्षेत्रमा छुट्टिदै आएको पूजीगत बजेटको १०, १० प्रतिशत बजेट काटिएको कतिपय अभियान रोकिएको बताउदै सरोकारवालाले त्यसलाई समेत निरन्तरता दिन आग्रह गरे ।

बुटवल उपमहानगरपालिका र संचारिका समूह प्रदेश ५ ले आयोजना गरेको लैंगिकता, महिला र बालबालिकाका विषय उठान र लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । सरोकारवालाले माग र आवश्यकता भएपनि महिला लक्षीत बजेट तथा योजनालाई प्राथमिकता नदिने परीपाटी अझै रहेको बताए । यसले गर्दा कतिपय महत्वपूर्ण योजना सुरु गर्न र अभियान सफल पार्न समस्या भएको उनीहरुले दावी गरे । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उपप्रमुखलाई धेरै जिम्मेवारी भएकाले ती जिम्मेवारी पूरा गर्दै महिला र बालबालिकाका विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।

उपमेयर सुत्केरी भेट अभियानबाट विपन्न सुत्केरीलाई पोषिलो खानेकुरा उपलब्ध गराउने र उपप्रमुख इलम कार्यक्रम संचालन गरेर महिलालाई उद्यमशील बनाउने प्रयास थालेको उहाले जनाउनुभयो । वडास्तरमा रहेका महिला शिल्पकलाको क्षमता विकास, माग र आवश्यकताको आधारमा सिप सिकाउने काममा समेत सहजीकरण गरेको उहाको भनाइ छ । महिला हिंसा मुक्त उपमहानगरपालिका बनाउने कार्ययोजना अगाडि बढाएको बताउदै उहाले त्यसअघि नै उपमहानगरका हरेक समितिमा महिला राख्न र नगरमा महिला आचार संहिता बनाएर कार्यान्वयनमा लैजान आफूले ठूलो भूमिका खेलेको बताउनुभयो । उपप्रमुखले कार्यकारी भूमिकामा धेरै काम गरेपनि महिला भएकै कारण कतिपय काम ओझेलमा परेको बताउदै संचारमाध्ययमले पनि त्यस्तो भेदभाव गर्न नहुने बताउनुभयो । कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालयका मुद्धा शाखाका प्रहरी निरीक्षक उमेश जोशीले महिला तथा बालबालिका विरुद्धका हिंसा वर्षेनी बढ्दै गएकाले त्यसलाई रोक्न सबैपक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । स्थानीय तहमा न्यायिक समितिलाई प्रभावकारी बनाउन र नीति तथा कार्यक्रममार्फत सचेतना कार्यक्रम बढाउन सके हिंसा घट्ने उहाको भनाइ थियो ।

सहजीकरण गर्दै कान्तिपुर पब्लीकेशनका ब्युरो प्रमुख दिपेन्द्र बडुवालले संचारमाध्ययममा महिला तथा बालबालिकाका विषय घटना भएपछि मात्रै आउने प्रचलन धेरै भएको बताउनुभयो । हिंसा हुनै नदिने उपाय, महिला तथा बालबालिकाका सफलता, नीति निर्माणको प्रभाव वा कमजोरी केलाएर लेख्ने हो भने तिनले संचारमाध्ययममा प्रसस्त स्थान पाउने उहाले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसालले महिला र बालबालिकाका समाचार भनेपछि महिलाले नै लेख्नुपर्छ भन्ने मान्यता तोड्नुपर्ने बताउनुभयो । उहाले यस्ता कार्यक्रममा प्रहरी र स्थानीय तहले पनि पत्रकारसित बेलाबेलामा अन्तरक्रिया गरे समस्या उठानमा सहज हुने बताउनुभयो ।
संचारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतमले स्थानीय तहले गरेका महिला र बालबालिकाका विषयमा संचार समन्वय हुन नसकेको बताउनुभयो । क्रियाशील महिला पत्रकार रुपन्देहीका अध्यक्ष भगवती पाण्डेले महिला र बालबालिकाका विषयलाई नजरअन्दाज गर्ने नेतृत्वलाई सिकाउनुपर्ने र मिडिया वकालत बढाउनुपर्ने बताउनुभयो । कार्यक्रम संचारिका समूह प्रदेश ५ का महासचिव अमृता अनमोलको अध्यक्षता र सचिव माया केसीको संचालनमा भएको थियो । जसमा बुटवलमा क्रियाशिल पत्रकार महिलाहरु सहभागी थिए ।