मन्त्री मण्डल हेरफेर हुन सक्ने सम्भावना छैन : मन्त्री खनाल

‘तत्कालीन अवस्थामा दुई पार्टीबीच एकता पनि गरौं, सरकार आलोपालो पनि गरौं भनिएकै हो,’ खनालले भने, ‘तर अहिले बेला भएको छैन, अढाइ वर्ष त भएको छैन नि ।’

प्रकाशित मिति:

राम प्रसाद भण्डारी / बुटवल – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने सम्भावना नभएको बताएका छन् । प्रधानमन्त्रीले चाहे जतिबेला पनि मन्त्री मण्डल हेरफेर हुन सक्ने भए पनि हाल यो सम्भावना नरहेको उनको भनाइ छ । रिपोर्टर्स क्लबले बुटवलमा मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले भने, ‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यही मान्छे बसिरहने कुरा पनि हुँदैन, अरुलाई पनि पालो दिनुपर्छ ।’

उनले व्यक्तिगत रुपमा भन्ने हो भने आफूलाई अहिले नै मन्त्री पदबाट हटाए पनि केही फरक नपर्ने बताए । मन्त्रीहरुको मूल्यांकनमा ‘डेन्जर जोन’मा परेको भनेर बेला-बेला समाचारमा आउने गरेका खनालले भने, ‘मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाए पनि कुनै टेन्सन छैन ।’

‘ओली प्रधानमन्त्री भएको अढाइ वर्ष पुग्नै बाँकी छ’ – मन्त्री खनालले सरकारले राम्रा काम गरिरहेको दाबीसमेत गरे । सरकारले कामलाई योजनाबद्ध रुपमा अघि बढाए पनि भनेजस्तो परिणाम आउन भने नसकेको उनले स्वीकार गरे । उनले दुई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताए । तर, ओली प्रधानमन्त्री बनेको साढे दुई वर्ष अझै नपुगेकाले तत्काल ओलीको विकल्प नभएको उनले बताए ।

‘तत्कालीन अवस्थामा दुई पार्टीबीच एकता पनि गरौं, सरकार आलोपालो पनि गरौं भनिएकै हो,’ खनालले भने, ‘तर अहिले बेला भएको छैन, अढाइ वर्ष त भएको छैन नि ।’ तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि अहिले वैचारिक, सांगठनिक र सरकारको नेतृत्वको विषयमा बढी छलफल भइरहेको भन्दै उनले पार्टीको विचार ‘जनताको जनवाद’ नै हुने बताए । उनले भने, ‘पार्टीमा गज्याङमज्याङ छ, बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको छ, जवज र २१ शताब्दीको जनवाद दुईवटै परिमार्जन रुप नै जनताको जनवाद हो । अब यसैलाई लिएर अघि बढ्न सकिन्छ ।’