पानी जोगाउन रोहिणीको बाध्यतात्मक निर्णय

प्रकाशित मिति:

भैरहवा –लामो समय सम्म बर्षा नभए पछि तराईमा खानेपानीको समेत अभाव हुदै गएको छ । पानी नपरेको कारण भूमिगत पानीको श्रोत घट्दै गई तराईमा खानेपानीको अभाव हुन थालेको हो । खानेपानीको समेत अभाव हुदै गए पछि रोहिणी गाउँपालिकाले आफ्नो क्षेत्रमा रोपाई प्रयोजनको लागी बोरिङ्ग बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका क्षेत्रमा अधिकांश धारामा पानी सुक्दै गई खानेपानीको समस्या देखिएकोले गाउँपालिकाले बाध्य भएर यस्तो निर्णय गरेको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।

उनले भूमिगत पानीको अत्याधिक दोहन र पानी नपरेकै कारण गाउँपालिकावासीमा खानेपानीको समस्या देखिएको बताए । यसको लागी बिशेष गरि भैरहवा लुम्बिनी भूमिगत जल परियोजना (भैलुभुज)ले गडान गरेको बोरिङ्गले झनै समस्या ल्याएको उनको भनाई छ । त्यस कारण बिउ जोगाउन बाहेक अन्य काममा भैलुभजको बोरिङ्ग नचलाउन गाउँपालिकाले अनुरोध गरेको छ । यसको प्रभावकारी अनुगमन तथा सञ्चालन गरेको पाईए सो लाई बन्द गराउन गाउँपालिका भित्र रहेका ईलाका प्रहरी कार्यालय, धकधई, मैनिहवा प्रहरी चौकी र पिपरहवा प्रहरी चौकीलाई समेत अनुरोध गरिएको यादवले बताए ।

“भैलुभजको बोरिङ्ग चल्दा त्यस क्षेत्रका कैयौ गाउँको हैण्डपाईप लगायत अन्य धाराबाट थोपो पानी नआएको कारणले यस्तो अप्रिय निर्णय गर्न बाध्य भएका हौ ।” यादवले भने “अहिले पानी नै परेको छैन, भएको बिउ र रोपेको धान पनि जोगउन धौ धौ परेको छ, यस्तो अवश्थामा केही दिन पर्खेर पानी परे पछि मात्र रोपाई गर्न गाउँपालिकाबासीमा आग्रह गरेका छौ ।”
रोहिणी गाउँपालिका वडा नम्बर २,३ र ७ मा अहिले भैलुभुजको बोरिङ्गबाट पानी लगाएर रोपाई हुदै आएको छ । “यस निर्णयले कृषकलाई केही समस्या पर्छ थाहा छ तर खानेपानीको लागी यस्तो निर्णय गर्नु परेको छ । आम कृषक संग यसको लागी क्षमाप्राथी छौ ।” गाउँपालिका अध्यक्ष यादवले भने । असार तेश्रो साता सम्म पनि यस क्षेत्रमा पानी नपर्दा कृषकहरुले रोपाई गर्न पाएका छैनन् । केही कृषकले महङ्गो पर्ने गरि डिप ट्यूबेल लगायतबाट पानी तानी रोपाई गरे पनि रोपिएको खेत सुकेर पटपटी फुटेको छ ।