प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

प्रकाशित मिति:

बुटवल –प्रदेश ५ र चीनको सिचुवानप्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्च स्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताए ।

मुख्यमन्त्री पोखरेलले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको जानकारी गराउंदै मुख्यमन्त्रीले छेन्दु—भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । यस्तै प्रदेश ५ मा तीन ठूला औद्योगिक क्षेत्र बन्न लागिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीले सिचुवानका लगानीकर्तालाई लगानीका लागि आग्रह गरे
मुख्यमन्त्री पोखरेलसंग चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमहानिर्देशक से सङबीच पनि भेटवार्ता भएको छ ।भेटमा उपमहानिर्देशक सङले नेकपा र नेपालले लिंदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति पनि चीनको सम्मान रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले चिनियाँ रेल लुम्बिनी पु¥याउन सके नेपालको विकास प्रयासमा महत्वपूर्ण फड्को हुने र चिनियाँ नागरिकलाई लुम्बिनी पुग्न सहज हुने धारणा राखे ।

कृषि अनुसन्धान केन्द्रका प्रमुखसंग पनि भेट
मुख्यमन्त्री पोखरेल र कृषि अनुसन्धान केन्द्रका प्रमुख यान सिउ पिनबीच पनि भेट भएको छ । भेटमा कृषि अनुसन्धान केन्द्रका प्रमुख सिउ पिनले सिचुवानमा कामको खोजीमा शहर पसेका नागरिकलाई गाउँ फर्काएर कृषि कर्ममा लगाउन विशेष कार्यक्रम चलाएको र कृषि कर्ममा लाग्नेलाई भत्ताको व्यवस्था गरेको जानकारी गराएका थिए । चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेलसहितको टोली १० दिने भ्रमणमा छ ।

भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर, संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई,मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी,स्वकीय सचिव तिरनराज गौतम,युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द,मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्ती रहेका छन् । भ्रमणका क्रममा सिचुवान प्रान्तको याआननगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायमगर्ने समझदारी हुनेछ । मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कने छन् ।

थप समाचार