जीपी फाउण्डेशनवाट स्वास्थ्य सामाग्री प्रदान

प्रकाशित मिति:

धरान, १८ असारः जी.पी. कोइराला फाउण्डेशन, सनसरीले धरान १३ स्थित पब्लिक माध्यामिक विद्यालय (फुस्रे) लाई प्राथमिक स्वास्थ्य उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु र पंखा प्रदान गरेको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति तथा नेपाली राजनितिका शिखर पुरुष स्व. गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा फाउण्डेशनले विद्यालयको माग बमोजिम आवश्यक सम्पूर्ण स्वास्थ्य सामाग्रीहरु र पंखा उपलब्ध गराएको हो ।

फाउण्डेशनका सुनसरी संयोजक चन्द्रशेखर लामा, नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, सहसंयोजक सुर्य राई, सचिव गंगा चौलागाई, सल्लाहकार श्यामा रेग्मी, सदस्यहरु राजु साह, निलकुमारी गिरी, विनय दाहाल, नविन कटवाल लगायतले विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम निरौलालाई उक्त सामाग्रीहरु प्रदान गरेका थिए ।  विद्यालयमा दुई घण्टाको पैदल यात्रा गरी टाढाटाढावाट विद्यार्थीहरु आउंदा स्वास्थ्यमा समस्या देखिने गरेको र विद्यालयमा हेल्थ टिचरका रुपमा अ.हेव. सन्तोष याक्खा आउनु भएपछि विद्यालयमै प्राथमिक स्वास्थ्य उपचार कक्ष स्थापना गर्ने उद्देश्यले फाउण्डेशनलाई सहयोग मागिएको प्रधानाध्यापक निरौलाले बताए । उनले जीपी फाउण्डेशनले प्राथमिक स्वास्थ्य उपचार कक्ष सञ्चालनका लागि महत्वपूर्ण सहयोग गरेको बताउंदै भविष्यमा पनि सहयोगको निरन्तरताको अपेक्षा गर्दै विद्यालयको तर्फवाट धन्यवाद एवम् प्रशंसापत्र समेत प्रदान गरे । फाउण्डेशनका संयोजक लामाले विद्यालयमा अध्ययनरत् चारसय विद्यार्थीहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर विद्यालयको माग बमोजिम फाउण्डेशनको तर्फवाट सहयोग गरिएको बताए । उनले धरानका सबै सरकारी विद्यालयहरुमा यस्तो सेवा उपलब्ध हुनुपर्ने भन्दै फाउण्डेशनले यसका लागि सहयोग गर्ने बताए ।