मासु चाहिए धुर्कोट जाऔं

प्रकाशित मिति:

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरु मासु उत्पादनमा व्यवसायिक रुपमै लागेपछि प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले धुर्कोटलाई मासुमा आत्मनिर्भर गाउँपालिका घोषणा गरेकी हुन् । गाउँपालिका प्रमुख भुपाल पोखरेलले जनप्रतिनिधि भएलगत्तै किसानलाई बाख्रा र कुखुरा पालनमा प्रोत्साहित गरेर मासुमा आत्मनिर्भर गराउन सफल भएको बताए । गाउँपालिकाका पशु शाखा स्वास्थ्य प्रमुख श्यामबहादुर कार्कीका अनुसार धुर्कोटमा ३० हजार ९ सय ८७ जनसंख्या छ ।

कार्कीले घोषणा सभामा प्रस्तुत गरेको तथ्यांक अनुसार धुर्कोटमा बाख्रा फार्म ६४ वटा, कुखुरा फार्म २१ वटा, गाईभैंसी पालन फार्म ६ वटा, घाँस फार्म २ वटा, बंगुर फार्म २ वटा, समुह सहकारी १५ वटा र मासु पसल ७ वटा छन् । धुर्कोट गाउँपालिकाभित्र वार्षिक ४ सय ३३ मेटि्रक टन मासु खपत हुन्छ भने ४५ मेटि्रक टन निर्यात हुने गरेको छ ।

गाउँपालिकामा खपत हुने बाहेक बढी भएको मासु सदरमुकाम तम्घास र प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा निर्यात हुने गरेको छ । निर्यात गरिएको खसी बोकाको मासुबाट वार्षिक १ करोड ३३ लाख आम्दानी हुने गरेको गाउँपालिकाले जनाएको छ ।