कवि हुँदै प्रधानमन्त्री बनेका वाजपेयी अब सम्झनामा सीमित

प्रकाशित मिति:

जीवन भण्डारी
प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा हुनुभएको छ ।
भारतमा सबभन्दा लामो समयसम्म सांसद बन्नु भएका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बन्नुभएको थियो । गठबन्धन सरकारलाई स्थायित्व र सफलता प्रदान गर्ने प्रधानमन्त्रीको रूपमा पनि उहाँलाई सम्झने गरिन्छ ।
सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उहाँको जन्म भएको थियो ।
उहाँले कानपुरको डी।ए।वी। कलेजबाट राजनीति शास्त्रमा प्रथम श्रेणीमा एम।ए। को परीक्षा उत्तीर्ण गर्नु भएको थियो भने एल।एल।बी। को पढाई शुरू गरेपनि छोडेर विद्यार्थीकाल देखि नै राष्ट्रिय स्वयंसेवक सङ्घमा लाग्नुभएको थियो ।
महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति “विजय पताका” पढेर आफू परिवर्तन भएको बताउने बाजपेयीले डा। श्यामा प्रसाद मुखर्जी र पं। दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढ्नु भएको थियो ।
राष्ट्रिय स्तरको वादविवाद प्रतियोगिताहरूमा भाग लिन थालेपछि सार्वजनिक छवि बनाउदै जानुभएका वाजपेयीले पाञ्चजन्य, राष्ट्रधर्म, दैनिक स्वदेश र वीर अर्जुनको सम्पादक समेत बन्नुभयो । उहाँ प्रखर वक्ता पनि हुनुहुन्थ्यो ।
प्राध्यापन पेशामा रहेका र राम्रा कवि मानिएका आफ्ना पिता कृष्ण बिहारी वाजपेयीको प्रेरणाबाट उहाँ साहित्यिक क्षेत्रमा लाग्नु भएको थियो । उहाँको पहिलो कविता ‘ताजमहल’ मानिन्छ । राष्ट्रप्रतिको वैयक्तिक संवेदनशीलता, संघर्षमय जीवन, परिवर्तनशीलता, जेलवास सबै परिस्थितिको प्रभाव एवं अनुभूति उहाँका कवितामा पाईन्छ ।
भारतीय जन सङ्घको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रुपमा राजनीतिक नेतृत्व गर्नुभयो । सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उहाँ पराजित हुनुभयो । सन् १९५७ मा बलरामपुरबाट भने जनसङ्घको तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल हुनुभयो ।
सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बन्नु भयो भने १९६८ देखि १९७३ सम्म भारतीय जनसङ्घको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो ।
सन् १९७७ देखि १९७९ सम्म भारतको विदेश मन्त्री बनेर उहाँले विदेशमा भारतको छवि राम्रो बनाउन सफल हुनुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराउनु भएको थियो ।
सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नु भएका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाउनुभयो । त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित हुनुभयो र १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाउनुभयो ।
उहाँले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थप्नुभयो ।
आफ्नो कार्यकालमा उहाँले परमाणु शक्ति सम्पन्न देशहरूको सम्भावित क्रोधबाट विचलित नभई अग्नि दुई नामक परमाणु परीक्षण गरेर देशको सुरक्षाका लागि दृढ कदम उठाउनुभयो । उहाँले सय बर्षभन्दा लामो कावेरी जल विवाद समाधान गर्नुभयो भने ग्रामीण रोजगार सृजना एवम् विदेशमा बसेका भारतीय मूलका मानिसहरूका लागि वीमा योजना पनि शुरू गराउनुभयो ।
वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो । त्यसपछि उहाँले राजनीतिबाट सन्यास घोषणा गर्नुभयो । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा)