उत्तर कोरियामा बन्दी बनाइएका अष्ट्रेलियन नागरिक रिहा

प्रकाशित मिति:

एपी/ बेइजिङ– उत्तर कोरियामा बन्दी बनाइएको भनिएका अष्ट्रेलियन विद्यार्थी मुक्त भएका छन् । उत्तर कोरियाको किम इल सुङ विश्वविद्यालयमा अध्ययन गर्दै आएका २९ वर्षे अष्ट्रेलियन विद्यार्थी अलेक सिग्ले उत्तर कोरियाबाट रिहा भई चीनको राजधानी बेइजिङ पुगेका छन् । विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले आफू ‘ठिक’ रहेको जनाएका छन् । त्यसबाहेक उत्तर कोरियामा उनलाई के भएको हो भन्नेबारे भने उनले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी जापानको राजधानी टोकियोका लागि प्रस्थान गरेको अष्ट्रेलियन अधिकारीले जनाएका छन् । उनले जापानी महिलासँग दाम्पत्य जीवन बिताइरहेको जनाइएको छ । यसअघि बिहीबार सबेरै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संसद्मा सम्बोधन गर्दै स्विडेनको सहयोगमा सिग्ले उत्तर कोरियाबाट मुक्त भएको जनाएका थिए ।

उनी गत जुन २५ देखि उत्तर कोरियाको राजधानी प्योङयाङबाट बेपत्ता भएका थिए । अष्ट्रेलियाले उनलाई त्यहाँ बन्दी बनाइएको जनाएको थियो । उनलाई किन त्यहाँ बन्दी बनाइएको हो भन्नेबारे केही स्पष्ट भइसकेको छैन । उत्तर कोरियामा पश्चिमा मुलुकका नागरिकलाई बेलाबेला बन्दी बनाई कठोर सजाय दिने गरेको समाचार सार्वजनिक हुने गरेको छ । सन् २०१७ मा उत्तर कोरियामा बन्दी बनाइएका अमेरिकी नागरिक ओटो वार्मबियरको कोमामा रहेका बेला ज्यान गएको थियो ।