भिरकोट नगरपालिकाको ४४ करोड ७६ लाख रुपैंयाको बजेट सार्वजानिक

प्रकाशित मिति:

 प्रदिप कोइराला स्याङ्जा-१९ असार । स्याङ्जा जिल्लाको मध्य भागमा अवस्थित भिरकोट नगरपालिकाले अागामी अार्थिक वर्षका लागि ४४ करोड ७६ लाखको वजेट सार्वजानिक गरेको छ । नगरपालिकाका उपमेयर सिमा कर्मचार्यले आगामी आर्थिक वर्षको लागि उक्त बजेट प्रस्तुत गरेकी हुन । बजेटले नगरको कृषि, भौतिक पूर्वाधार, भवन निर्माण, खानेपानी, पर्यटन, सडक तथा व्यवस्थित शहरीकरण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट सार्वजानिक गरेको छ । नगरपालिकाले संस्थागत क्षमतामा बिकास गरि सुशासन प्रबद्धन गर्ने, आन्तरिक श्रोतको अधिकतम परिचालन गर्ने, आर्थिक भौतिक सामाजिक पुर्वाधार विकास गर्ने, पर्यटन क्षेत्रको विकास, स्वच्छ शिक्षा पुर्वाधारमा विकास, कृषि क्षेत्रको आधुनिकिकरण प्राथमिकतामा राखेर बजेट सार्वजानिक गरिएको अाज अायोजित पत्रकार सम्मेलन मार्फत नगरका प्रवक्ता दिपेन्द्र के.सि.ले जानकारी गराएका हुन ।

बजेट मध्ये संघीय सरकारबाट समानीकरण अनुदान १० करोड १४ लाख रुपैंया रहेको छ, गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड २३ लाख ५८ हजार रुपैंया रहेको छ । नगरको आन्तरिक आयबाट १ करोड २५ लाख रुपैंया रहेको छ । राजश्व वाडफाड अन्तरगत संघिय सरकारवाट ७ करोड २३ लाख, प्रदेश सरकारवाट ३० लाख ३४ हजार र संचित कोष २ करोड अनुमान गरिएको छ । नेपाल सरकारबाट प्राप्त हुने रकम अन्तर्गतको प्रदेश समपुरक अनुदान ९० लाख, शशर्त अनुदान १५ करोड ७१ लाख र सामाजिक सुरक्षा अन्तर्गतको ६ करोड गरि कुल ४४ करोड ७६ लाख ९२ हजारको वजेट प्रस्तुत गरिएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता केसीले वताए । भिरकोट नगरपालिकाको बजेट चालू तर्फ ३३ करोड २६ लाख ९२ हजार र पुंजीगत तर्फ ११ करोड ५० लाख अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा भिरकोट नगरपालिकाका मेयर छायाराम खनालले भिरकोट नगरपालिका सानो नगरपालिका सिमित स्रोत र साधन भएपनि नगरको समुन्नत विकासमा अाफू र नगरको सम्पूर्ण शक्ति जिम्मेवार पूर्वक लागेको वताउदै प्रस्तावित बजेट जनताको पक्षमा रहेको विश्वास व्यक्त गरेका छन । शाखा अधिकृत रामप्रसाद खनालले सन्चालन गरेको कार्यक्रम उप प्रमुख सिमा केसी कर्मचार्यले स्वागत गरेकी थिईन ।