नेकपाद्धारा प्रदेश र जिल्लाहरुमा पद वाडफाड गरि सहमती

प्रकाशित मिति:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना मगर र गणेशमान पुन मगरको नाम सिफारिस भएको छ ।प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले आज महासचिव विष्णु पौडेललाई अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।
प्रदेश अध्यक्षमा सिफारिस हुनु भएका दलबहादुर रानामगर पाल्पा १ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य तथा तत्कालिन एमालेका प्रदेश ५ सहसंयोजक हुनुहुन्छ । त्यस्तै गणेशमान पुन तत्कालिन माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डर तथा पूर्वमन्त्री हुनुहुन्छ । प्रदेश कमिटीको अध्यक्ष पूर्वएमालेको भागमा परे रानाले र पूर्व माओवादीको भागमा परे पुनले नेतृत्व गर्नुहुने छ ।कार्यदलले प्रदेश ५ का जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेश ५ का १२ जिल्लामध्ये तत्कालिन एमालेले ७ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउने भएका छन् ।जसअनुसार पूर्वएमालेबाट रुपन्देहीमा गोपाल भट्टराई,कपिलबस्तुमा छबिलाल पोखरेल,अर्घाखाँचीमा पिताम्बर भुसाल, ,गुल्मीमा बालसिंह काउछा मगर,पाल्पामा राधाकृष्ण कँडेल दाङमा शिव आचार्य, प्युठानमा तुलसीराम शर्मा अध्यक्षमा सिफारिस हुनु भएको छ ।
त्यस्तै पूर्व माओवादीले जिल्ला अध्यक्ष पाएको नवलपरासीमा घनश्याम यादव, बर्दियमा भुवन थारु, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ र रोल्पामा सुरेन्द्र घर्ती मगर अध्यक्षमा सिफारिस हुनु भएको छ।
कार्यदलमा पूर्व एमालेबाट शंकर पोखरेल, दलबहादुर राना र भूमिश्वर ढकाल तथा पूर्व माओवादीबाट मणि थापा र गणेशमान पुन हुनुहुन्थ्यो । यो प्रदेशबाट नेकपाका धेरै प्रभावशाली नेताहरु प्रतिनिधित्व गर्छन् ।

वरिष्ठ नेता बामदेव गौतम, महासचिव विष्णु पौडेल,शंकर पोखरेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, मणि थापा, टोपबहादुर रायमाझी, सभामुख कृष्णबहादुर महरालगायतका नेता यही प्रदेशबाट प्रतिनिधित्व गर्छन् ।