प्रचण्डलाई बाबुरामको जवाफ : मनाङे जस्ता बौद्धिक हुँदाहुँदै हाम्रो आवश्यक पर्छ र?

प्रकाशित मिति:

बुटवल – समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले दीपक मनाङेहरु भएको पार्टीमा आफ्नो आवश्यकता नहुने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नोबारे गरेको टिप्पणीको जवाफ दिँदै मनाङे जस्ता बौद्धिक नेताहरु भएको ठाउँमा आफ्नो कुनै भूमिका नहुने कटाक्ष गरेका हुन्। अध्यक्ष दाहालले बाबुरामप्रति इङ्गित गर्दै उनी जस्ता बौद्धिक नेताहरु कम्युनिष्टहरुले सामाजिक न्यायका लागि बल गरेका बेला यहीँ लाग्नुपर्ने बताएका थिए। अध्यक्ष दाहालले सम्बोधनका क्रममा आफ्ना पूर्वसहयोद्धा बाबुराम भट्टराईलाई पनि सम्झिँदै उनको बौद्धिकता अन्त काम नलाग्ने बताएपछि बाबुरामले जवाफ दिएका हुन्।

‘उहाँहरुले हामीलाई छाडेर आफ्नै नेतृत्वमा नयाँ बनाउँछु भनेर हिँड्नु भएको छ। बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणति दिएको देखिँदैन’, दाहालले भनेका थिए, ‘कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामको बौद्धिकताको अर्थ छैन ।’ तर त्यसको जवाफ दिँदै प्रचण्ड नेतृत्वको नेकपालाई बाबुरामले ‘कमाउनिष्ट’ पार्टीको संज्ञा नै दिए । ‘कमरेड दीपक मनांगे जस्ता ‘बौद्धिक’भएको ‘कमाउनिष्ट’पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र?’, बाबुरामले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् आफ्नो धारणा राख्दै भनेका छन्।

कम्युनिष्टमा नजोडिए बाबुरामको बौद्धिकताको के काम? प्रचण्डको चिन्ता : सोझ्याउँछु भन्दै विप्लव हिँडे, रोहित कसरी मान्लान्, वैद्यलाई कसरी बुझाउनु? त्यसअघि शुक्रबारै गरेको अर्को ट्विटमा आफ्नो पार्टी छाडेर गएका पूर्वमन्त्री कल्पना धमलासहितका नेतामाथि पनि उनले कटाक्ष गरे। उनले धमलासहितका नेताहरुलाई सत्ताको पार्टीमा पसेर रस चुस्न गएको संज्ञा दिए। बाबुरामले जता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति नेपाली नेताहरुमा बढ्दै गएको भन्दै कटाक्ष गरेका छन्। ‘यतिबेला जता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ! डनहरू, व्यापारीहरू, क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पार्टी पसेर रस चुस्न होडवाजी गर्दैछन्’, उनले ट्‍विटरमा भनेका छन्, ‘समाजवादी पार्टीबाट नेकपा पस्‍न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसँग अलगअलग बार्गेनिङ गरेर राम्रै लाभ लिन लागेछन्! भलो होस् !’