वालिङ महोत्सवको नाफा ३३ लाख

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल -स्याङ्जा गत बर्षको माघमा गरिएको सातौ वालिङ महोत्सवको आयव्याय सार्वजनिक गरिएको छ । करिव ६ महिना पछाडी गरिएको महोत्सवबाट ३३ लाख ९५ हजार १ सय ६९ रुपैया नाफा भएको आयव्याय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । महोत्सव सकिएको एक महिना भित्रमा आयव्याय सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको वाणिज्य संघले बल्ल सार्वजनिक गर्ने मौका पाएको छ । आन्तरिक राजस्व कार्यालय, प्रायोजकहरुको रकम ढिला र केही आयोजकले रकम फछ्र्यौटमा ढिला गरेका कारण आयव्याय सार्वजनिकमा ढिलाई हुन पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

माघ १७ गते देखि २८ गते सम्म संचालन हुने गरी आयोजना गरीएको सातौ महोत्सवमा १ करोड ७९ लाख ९५ हजार ८ सय ७ आम्दानी भएको छ भने १ करोड ४६ लाख ६ सय ३८ रकम खर्च भएको छ । जसबाट ३३ लाख ९५ लाख १ सय ६९ रुपैया वचत भएको पत्रकार सम्मेलनमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए । महोत्सव शुरु हुनुभन्दा अगावै आयोजकले २ करोड १० लाख आम्दानी र १ करोड ५० लाख ५१ हजार खर्च भई ६० लाख वचत गर्ने अनुमानित बजेट सहित लक्ष्य राखेको थियो । तर आयोजकले वचतमा अनुमानित गरे भन्दा ४५ प्रतिशत कम नाफा गर्न सफल भएको देखाएको छ ।

महोत्सवमा भएको खर्चमा सबै भन्दा बढी खर्च कलाकार व्यवस्थापनमा भएको देखाएको छ । १५ लाख अनुमान गरेको आयोजकले झण्डै १० लाख भन्दा बढी कलाकार व्यवस्थापनमा खर्च भएको छ । त्यस्तै प्रचार प्रसारमा ६ लाख अनुमान गरेकोमा दुई तिहाई खर्च भएको देखाएको छ । अतिथि सत्कार, खाँजानास्ता, आँधीखोलामा निर्माण गरिएको जलासय कृतिम ताल, लगायतका अधिकांश विषयमा आयोजकले अनुमान गरेको भन्दा बढी खर्च भएका कारण आयोजकले लक्ष्य अनुसारको रकम बचाउन नसकेको आयोजकले स्विकारेको छ । आयोजकमा वित्तिय अनुसाशन नहुदा खर्च बढेको हुन सक्ने अनुमान सरोकारवालाहरुको रहेको छ ।

आयव्याय सार्वजनिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य चोपनारायण श्रेष्ठले संघले महोत्सव आयोजना गरेर वालिङको सामाजिक, आर्थिक, पर्यटन र कृषिको प्रचारप्रसारमा ठुलो टेवा पुगेको बताए । आगामी दिनहरुमा पनि यस्ता खालका महोत्सवले वालिङको मुहार फेरिनेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा पुर्व अध्यक्ष ले.यामबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, उपाध्यक्ष गिरमान गुरुङ्, कोषाध्यक्ष तारा श्रेष्ठ र महासचिव केशरबहादुर खाँण(ध्रुव) लगायतका बक्ताहरुले हरेक महोत्सवले नयाँ नयाँ सिकाउने हुदा सिक्दै जाने र सुधार्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए । संघका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले पत्रकारहरुले उठाएको जिज्ञासालाई मेटाएका थिए । संघले सार्वजनिक गरेको आयव्यायले आगामी आठौ महोत्सवलाई चुनौती थपिदिएको पत्रकारहरुले सुझाव दिएका थिए ।