महिलालाई व्यवसाय सञ्चालन बारे अभिमुखिकरण

प्रकाशित मिति:

नरेश चौधरी/सैनामैना – सैनामैना नगरपालिकाको आयोजनामा महिलाहरुका लागि उद्यामशीलता विकास तथा व्यवसाय व्यवस्थापन सम्बन्धी चार दिने अभिमुखिकरण कार्यक्रम आजदेखि सुरु भएको छ । व्यवसाय कसरी सुरु गर्ने, सुरु गरेको व्यवसायलाई कसरी सुधार गर्ने, विस्तार र विकासका लागि के गर्ने तथा समग्र व्यवसायको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा तालिम दिइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख चित्रबहादुर कार्कीले महिलाहरुलाई अत्मनिर्भर बनाउने र उनीहरुलाई व्यवसायमा समेत सफल बनाउने बारेमा नगरपालिकाले नीति तथा कार्यक्रममै उल्लेख गरेको बताउनुभयो । उहाले व्यवसाय संचालन गर्दा इमन्दारीता, लगनशिलता र निरान्तरता दिने कुरालाई हेक्का राख्न सहभागिहरुलाई आग्रह गर्नुभयो । व्यवसाय ंसञ्चालन गर्दा उपभोक्ताको हक हित र स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्नेमा जोड दिदै प्रमुख कार्कीले गुणस्तर तथा मापदाण्डलाई ध्यान दिन आग्रह गर्नुभयो । सैनामैना नगरपालिकाले समय समयमा बाजार अनुगमन गरि रहेको र यसको निरन्तरता दिइने उहाको भनाइ छ ।

उपप्रमुख विना रानाले महिलाहरुलाई आर्थिक रुपमा सबल, सफल र आत्मनिर्भर बनाउनका लागि कार्यक्रमको शुभारम्भ गरिएको बताउदै निरन्तरता दिइने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बजार अनुगमनलाई निरन्तरता दिइने भन्दै सबैको सहकार्यमा कार्यक्रम प्रभावकारी बनाइने बताउनुभयो । व्यवसाय सञ्चालनका लागि ज्ञान–सिप संगै निरन्तरता र लगनशिलता अवश्यक रहेको उहाको भनाइ थियो । चार दिने अभिमुखिकरणमा निर्मल सिग्देलले सहजिकरण गर्नुभएको छ ।