पाकिस्तानमा ७२ वर्षपछि हिन्दू मन्दिर खुल्यो

प्रकाशित मिति:

इस्लामावाद – ७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो ।

प्रधानमन्त्री इमरान खानको निर्देशनमा उक्त मन्दिर खोलिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । हिन्दू परम्परा अनुसार हवन् गरी उक्त मन्दिरलाई पुनः सञ्चालनमा ल्याइएको हो । हवन् समारोहमा ठूलो सङ्ख्यामा हिन्दू धर्मावलम्बीको सहभागिता थियो ।

अधिकारीको अनुसार भारत र पाकिस्तान टुक्रिने बेला सन् १९४७ देखि उक्त मन्दिर बन्द थियो । यद्यपि हिन्दू धर्मावलम्बीको मागबमोजिम प्रधानमन्त्री खानको निर्देशनमा मन्दिर ७२ वर्षपछि खोलिएको जनाइएको छ । धेरै नै लामो समयदेखि बन्द रहेकाले मन्दिरको अवस्था जीर्ण रहेको र यसको मर्मतका लागि समेत काम थालिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । मन्दिरमा भगवान्का मूर्ती भने भारतबाट ल्याइने छ ।