कस्तो अवस्थामा मान्छेले आत्महत्याबारे सोच्छ ?

२१ असार २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
23 Shares


अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । मान्छे मृत्युदेखि सधै भयभित रहन्छ । त्यसैले सकेसम्म मृत्युलाई धकेल्दै मान्छेले जीवन लम्बाउने यत्न गर्छन् । जतिसुकै जटिल रोग लागेपनि मान्छे हार्न चाहँदैनन् । रोगसँग जुधेर बाँच्न चाहन्छ । एकबारको जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहन्छन् ।मृत्यु स्वभाविक हो । सत्य पनि । तर, मृत्युलाई बिर्सिएर मान्छे जीवनमा हाँस्न र रमाउन चाहन्छ । केही गर्न चाहन्छ । मान्छेलाई आफ्नो जीवनप्रति त्यती प्रेम छ । लोभ छ ।

तर, त्यही मान्छे आफ्नो जीवन सिध्याउन पनि उक्सन्छन् । किन ? बर्षेनी १० लाखले आत्महत्या

विश्वमा प्रति वर्ष १० लाख मानिसहरु आत्महत्याका कारण मृत्युको शिकार हुने गरेको तथ्याङ्क पाइन्छ । प्राय सबै देशमा १५ देखि २४ बर्षका मानिसमा यो समस्या बढी देखिने गरेको छ । जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले आत्महत्याको बाटो रोज्छ । संसारमा बर्षेनी लगभग ८ लाख व्यक्तिले आत्महत्या गर्छन् । हरेक ३ सेकेन्डमा १ जनाले प्रयास र ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् । १५-२९ बर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ ।

कसले गर्छ आत्महत्याको प्रयास ? आत्महत्या विश्वव्यापी घटना भएता पनि ७८ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशहरुमा हुने गरेकोे तथ्याङ्क छ । आत्महत्याबाट जति मानिसको मृत्यु भइरहेको हुन्छ, त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने गर्छ । प्ा्रायः महिलाहरु पुरुषहरुको तुलनामा बढी आत्महत्याको प्रयास गर्छन् । तर, तथ्याङ्कका अनुसार खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरुले महिलाको अनुपातमा बढी आत्महत्या गरेको पाइन्छ । विश्वमा आत्महत्याका माध्यमहरु मध्ये विष सेवन, झुण्डिएर तथा शरीरमा आगो लगाएर गर्ने आत्महत्या प्रमुख रहेको डब्ल्युएचओको तथ्यांकम उल्लेख छ ।

नेपालको तथ्यांकले के भन्छ ? नेपालमा आत्महत्याको अवस्थाबारे चर्चा गर्दा प्रत्येक बर्ष सरदर ४ हजार ६७४ व्यक्तिले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंमा प्रत्येक हप्ता कम्तिमा १० वटा आत्महत्यासम्बन्धी घटना दर्ता हुने गरेका छन्, जसमा अधिकांश महिला छन् । विश्वमा आत्महत्याको जोखिममा नेपाल सातौं स्थानमा छ भने महिलामा तेस्रो स्थानमा छ । नेपाललगायत विकासशील मुलुकहरुमा आत्महत्या सम्बन्धी विभिन्न सामाजिक लाञ्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति, उपयुक्त अभिलेखीकरणको अभाव तथा सीमित अनुसन्धान आदिका कारण भरपर्दो रुपमा तथ्याङ्कको कमी छ ।

किन गर्छ आत्महत्या ? उदासीनतालाई आत्महत्याको मुख्य कारण मानिन्छ । सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकता भन्दा बढी उतार-चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नु आदि उदासीनता का कारणहरु हुन् । उदासीनताले आत्महत्यालाई बढावा दिने गर्छ ।

त्यसैगरी रक्सी र अन्य लागूऔषधको दुरुपयोग आत्महत्याको अर्को कारण हो । केही मानिसहरु नयाँ अनुभव लिन, उदासीनता, निराशापन, नकारात्मक भावनालाई हटाउनका लागि भन्दै मद्यपान वा अन्य लागूऔषधको प्रयोग गर्दछन् । यसले कार्य शिथिलता ल्याउने तथा उदासीनता बढाउने गर्छ । साथै यसको प्रयोगले धेरै प्रकारका शारीरिक समस्या निम्त्याउनुको साथै आर्थिकरुपमा कमजोर बनाउँछ र विस्तारै बाँच्ने रहरमा कमी हुदै जाँदा आत्महत्या बढ्ने गरेको पाइन्छ ।

त्यसैगरी दीर्घ रोग पनि आत्महत्याको एएटा कारण हो । कुनै पनि शारीरिक रोगबाट लामो समयसम्म ग्रसित भइरहेर बाँच्नुको अर्थ नदेखेर कतिपय मानिसले आत्महत्या गर्छन् । जस्तै- द्वन्द्वले धेरैको अंगभंग भएको छ । शारीरिकरुपमा अस्वस्थ्य छन्, जसले गर्दा पनि आत्महत्याको दर बढेको छ । जटिल मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरु जस्तै- साइकोसिस, सिजोफ्रोनियाजस्ता समस्या भएको ब्यक्तिमा पनि आत्महत्याको दर बढ्दो छ ।

त्यसैगरी सामाजिक, ब्यक्तिगत वा मनोसामाजिक समस्याहरुले पनि आत्महत्या बढाउने गरेको छ । जस्तै- बैवाहिक जीवनको अन्त्य, हत्या र बेपत्ता हुनेमा प्रायः पुरुषहरु रहेकाले एकल महिलाको संख्या बढेको छ । यसले गर्दा कसैसँग राम्रो सम्बन्ध स्थापित गर्न नसक्नु, बेरोजगार हुनु, आˆना विचारहरु पोख्न नपाउनु, जीवनसाथीको अभावमा विभिन्न सामाजिक लाञ्छनाको सामना गर्नु आदि समस्याहरु एकल महिलाले सामना गर्नुपर्ने हुन्छ । यसका साथै बालबच्चाका बाबुआमा मारिएपछि वियोगान्त घटनाले पनि आत्महत्याको दर बढाएको छ ।

आत्महत्यासम्बन्धी कथन र सत्यता

कथन- आत्महत्या सम्बन्धी सोधपुछ गर्दा वा कुराकानी गर्दा, आत्महत्या गर्न झन प्रेरणा मिल्छ ।

सत्यता- आत्मीयता र कुनै किसिमको आलोचनाविना कुराकानी गर्दा व्यक्तिलाई बाँच्न सहजता महसुश हुन्छ ।

कथन- महिलाको दाँजोमा पुरुषले बढी आत्महत्याको प्रयास गर्छन् ।

सत्यता-आत्महत्याको प्रयास महिलाले बढी गर्छन् । तर, ३ जनामा २ जनाको आत्महत्या प्रयास सफल हुनेमा बढी पुरुषहरु छन् ।

कथन- एकपटक आत्महत्याको सोच वा प्रयास गर्ने व्यक्तिले सधैँ त्यही सोच राख्छ । यदि मनिसले आत्महत्या गर्ने निर्णय गर्छ भने, उसलाई कसैले रोक्न सक्दैन ।

सत्यता- एकपटक आत्महत्याको सोच वा प्रयास गर्ने व्यक्तिले सधैँ त्यही सोच राख्छ भन्ने सत्य होइन । यो अस्थायी सोचाइ हो । यो संकटको अवस्था पार नहुँदासम्म मात्रै रहन्छ । आत्महत्याले केवल संटको घडीलाई प्रतिनिधित्व गरिरहेको हुन्छ । यो शतप्रतिशत रोकथाम गर्न सकिन्छ । मानिसको सङ्कट अबस्था पार हुदै जाँदा समस्यालाई हेर्ने दृष्टिकोण बदलिन सक्छ । सामान्यतया आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई पछि गएर पछुतो हुन्छ र बाँच्नका लागि तयार हुन्छन् ।

कथन- धेरैजसो आत्महत्याको कारण भनेको कुनै आघात जन्यघटना हो ।

सत्यता- आत्महत्या लामो समयबाट निरन्तर भइरहेका घटनाक्रमका कारणले हुने गर्छ । जस्तै- लामो समयदेखि दुःखी रहनु, निराशापन आउनु, आत्मसम्मानमा कमी आउनु र जीवनमा आइपर्ने घटनालाई सामना गर्ने क्षमतामा कमी आउनु अथवा भविष्यप्रति कुनै आशा नहुनु ।

कथन- आत्महत्या गर्न खोजेको व्यक्तिले, कुनै पनि कुरामा अत्यधिक प्रतिकृया गर्छन् ।

सत्यता- कुनै एक व्यक्तिलाई सानो वा सजिलो लाग्ने घटना अर्को व्यक्तिलाई अप्ठ्यारो वा ठूलो लाग्न सक्दछ ।

कथन ः आत्महत्या रीस, राग, बदला र कायरताको परिणाम हो ।

सत्यता- आत्महत्या गर्ने धेरै व्यक्तिहरुले आफू अरुका लागि केही काम नलाग्ने अथवा आफू अरुका लागि बोझ भएको महशुस गर्छन् र आˆनो अन्त्य भए आफन्तलाई सजिलो हुन्छ भन्ने सोचेर आत्महत्या गर्छन् ।

आत्महत्यासम्बन्धी केही प्रश्न के आत्महत्या गर्ने व्यक्तिले कुनै प्रकारको चेतावनी वा संकेत दिन्छन् ? १० जनामा ८ व्यक्तिले आत्महत्या अगाडि कुनै न कुनै माध्यमबाट संकेत दिएका हुन्छन् । के आत्महत्या गर्ने व्यक्तिले सधंै सुसाइड नोट छाडेका हुन्छन् ? धेरैजसो सुसाइड नोट लेखिएको हुँदैन । के आत्महत्याको कुरा गरिरहने व्यक्तिले आफुप्रति ध्यानाकर्षण गर्नका निम्ति त्यसो गरिरहेका हुन्छन् ?होइन, यो त्यसको उल्टो हुने गर्छ ।

७०५ मानिसले आत्महत्या गर्नुअघि केही चेतावनी संकेत दिन खोजिरहेका हुन्छन् । अथवा आत्महत्याको प्रयास गरेका हुन्छन् । कुनै व्यक्तिले आत्महत्याको कुरा कुनै प्रकारबाट प्रस्तुत गर्दछन् भने, त्यस कुरालाई गहन रुपमा लिनुपर्दछ । के आत्महत्या ईच्छा हो ? आत्महत्या कसैले ईच्छाले गर्ने होइन । यो त्यस व्यक्तिले दुःखबाट मुक्त हुन देखेको एक गलत उपाय मात्र हो । यदि दुःखबाट मुक्त हुन अर्को उपाय केही छ भन्ने जानकारी पाएमा त्यस व्यक्तिले आत्महत्यालाई कदापि रोज्दैन ।

आत्महत्याको जोखिममा परेका व्यक्तिले देखाउने प्रतिक्रिया कुनै पनि कुरामा प्रतिक्रिया नदिने । आˆनो सरसफाइमा वास्ता नगर्ने । संवेगात्मक रुपमा शून्य हुने । कुनै कुरामा पनि रुचि नदेखाउने । आफूलाई मूल्यहीन महसुस गर्ने । एक्कासी धेरै खुसी हुने अनि एक्कासी शान्त हुने । आफूले आफैंलाई हानीनोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुराहरु गरिरहने । आत्महत्या गर्ने योजना बनाई त्यसको तयारी गर्ने । आत्महत्या गर्ने प्रयास गर्नुपूर्व आˆना कार्यहरु सिलसिलावद्ध तरिकामा मिलाउने । आत्महत्या गर्नबाट पहिले रोकेका वा रोक्न सक्ने सम्बन्ध तथा भूमिकाहरु टुंग्याउने । भविष्यप्रति निराश, आफू वा आˆनो जीवन आउँदा दिनहरुमा अझ राम्रो हुन सक्छ भनी विचार नगर्ने । मेरो कोही छैन, मलाई कसैले सकारात्मक दृष्टिकोणले हेर्दैनन्, अब म कसका लागि बाँचू जस्ता निराशावादी कुराहरु गर्ने र आफूलाई असहाय महसुस गर्ने । आत्महत्यालाई सकरात्मक रुपमा लिने ।

आफूले माया गर्ने व्यक्ति वा रेखदेख गर्ने व्यक्तिसँग अप्रत्यासित रुपमा भेटघाट वा कुराकानी गर्ने । आˆना मूल्यवान् वस्तुहरु अरुलाई बाँड्ने । आत्महत्याको जोखिममा परेका व्यक्तिलाई कसरी सहयोग गर्ने ? आत्महत्या गर्नेहरुलाई समाजले कायर, यो दुःखबाट राहत पाउनका लागि गरिने हानिकारक कार्य, स्वार्थी, आदि ठान्ने गर्छ । यसलाई मानसिक समस्या ठान्ने गरिन्छ । त्यस्ता मानिसहरु पापी एवं कमजोर मानसिकताका हुन्छन् भन्ने समाजले ठान्ने गरेको छ । आत्महत्या समस्याको परिणाम हो । आत्महत्याको जोखिममा परेका व्यक्तिलाई गर्ने सबैभन्दा राम्रो सहयोग भनेको सहानुभूति र सुनाइ हो । आˆनो मान्छेलाई थाहा दिनुहोस् कि उहाँ एक्लै हुन हुन्न र तपाई उहाँको वास्ता गर्नुहुन्छ । त्यस्ता व्यक्तिलाई आराम गर्न दिने, बिरामीका कुरा पूर्णरूपमा सुन्ने र उसलाई आफ्नो भावना व्यक्त गर्न प्रोत्साहित गर्ने कार्य गर्नुपर्छ । विश्वासिलो सम्बन्ध बनाउने (सम्बन्ध विस्तार गर्ने) तर, उसका जानकारीहरु गोप्य राख्ने र उसको भावनाप्रति संवेदनशील हुने कार्य गर्नुपर्छ ।आत्महत्याको जोखिममा भएका व्यक्तिलाई सहयोग गर्नको निम्ति साहस र धैर्यको जरुरत पर्छ । राम्रोसँग कुरा गरेको खण्डमा आत्महत्याको सोचाइप्रतिको भावना उथल-पुथल हुन सक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया