ॐ तपाईंको धर्म के हो ?

प्रकाशित मिति:

‘मैलें फलानो धर्म परिवर्तन गरें नि ।’ मान्छेहरुले यो कुरा त्यती सजिलै भन्छ कि मानौ, ‘धर्म’ भनेको लुगा हो । ‘धर्म’ के हो ? यस सम्बन्धमा उनीहरुको बुझाई सही छैन । यदि धर्मलाई सही ढंगले बुझ्दो हो त ‘धर्म परिवर्तन’ हुने कुनै त्यस्तो बस्तु होइन । अहिले थुप्रै मान्छे यस्तै भ्रम पालेर बसिरहेका छन् । उनीहरुलाई ललाई-फकाई फलानो धर्म लिनुपर्छ, फलानो धर्म त्याग्नुपर्छ भनिएको छ । धर्मप्रति उनको कमजोर बुझाईको फाइदा उठाउँदै ‘धर्मका ठेकेदार’हरुले यस्तो चालबाजी चालिरहेका छन् । अतः त्यो कुटिल चालबाजीमा सोझा, निमुखाहरु परिरहेका छन् । किन धर्मको नाममा यस्तो चालबाजी हुन्छ त ? यसको जवाफ खोतल्नुअघि धर्मबारे केही बुझ्न उपयुक्त हुन्छ ।

धर्म के हो ? धर्म त्यही हो, जुन काम तपाईं साँचो, सत्य, सही गर्नुहुन्छ । तपाईंले गर्ने ति तमाम काम धर्म हो, जसमा श्रम, इमान्दारिता, सत्य मिसिएको छ । अर्थात सही ढंगले गरिने सही कर्म नै धर्म हो । यस्ता कर्मले तपाईंको जीवन सरल र सहज त हुनेछ नै, अरुको पनि हित हुनेछ ।

खासमा तपाईंले गर्ने त्यो कर्म असलमा धर्म हो, जसले अरुको दुःख, पीडा, समस्या, अभाव टारिदिन्छ । धर्मबारे धेरै शब्दजाल बुनिरहनु आवश्यक छैन । यसलाई एउटै शब्दमा बुझ्दा हुन्छ, धर्म भनेको उपकार हो । कल्याणकारी काम हो । कुनै स्वार्थ नराखी कसैप्रति पूर्णत सेवाभावले गर्ने कर्म पनि धर्म हो । असाहयप्रति तपाईंले दर्शाउने स्नेह भाव र गर्ने सेवा पनि धर्म हो । कसैका लागि गरिने पूण्यको काम पनि धर्म हो । सत्य र साँचो कुरामा सधै अडिग रहनु पनि तपाईंको धर्म हो ।

ति आडम्बर हुन् – पूजापाठ गरेर, देवतालाई भेटी चढाएर, मन्दिर धाएर, बिहान-बेलुकी आरती गरेर, पुराण लगाएर, ब्रत बसेर धर्म हुँदैन । यी आडम्बर हुन्, जबसम्म यी कुरालाई तपाईंले विधीपूर्वक र बुझेर गर्नुहुन्न ।

यदी यी कुराको अर्थ र मर्म बुझेर, विधीपूर्वक गर्नुहुन्छ भने त्यो चाहि त्यसबाट तपाईं लाभान्वित हुनुहुनेछ । किनभने यी सबै विधी-विधानले तपाईंको मन र शरीर शुद्धिकरण गर्नेछ । यी आफैमा धर्म होइनन् । तर, धर्ममा पुग्ने बाटो हुन् । अर्थात तपाईंमा धार्मिक प्रवृत्ति विकास गराउने माध्याम हुन् ।

ति धर्म होइनन् –  तपाईंको जन्म, न्वरान, विवाह आदि विधी कुन पद्धतीबाट गर्नुभयो ? हिन्दु, इसाई, बौद्ध, मुश्लिम । वास्तवमा हामीले धर्म भनिरहेका यी कुरा धर्म होइनन्, पद्धती हुन् । जीवनलाई सही, सत्य र सन्तुलित ढंगले डोहोर्‍याउने एक प्रणाली हुन् । यी आफैमा धर्म होइनन् ।हिन्दु धर्म होइन, इसाई धर्म होइन, मुस्लिम वा बौद्ध धर्म होइन । संस्कार हो । पद्धती हो ।

हाम्रो जीवनलाई समुन्नत ढंगबाट डोहोर्‍याउने प्रणाली हुन् । यी कुनैपनि पद्धतीलाई नियमपूर्वक एवं अनुशासित ढंगले आत्मसात गरेर हामीले आफ्नो जीवनलाई सही र सन्तुलित रुपमा जिउन सक्छौ । चराचर जगतसँग जोडिएर कसरी जीवनको सौन्दर्य खोज्ने भन्ने कुरा यी पद्धतीबाट थाहा हुन्छ । अतः हामी जन्मेको भूगोल, हावापानी वा भनौ समग्र प्रकृतिको लयसँग तालमेल मिलाउनेगरी यी संस्कार एवं पद्धतीको विकास भएको छ । त्यसैले आफ्नो धरातल अनुसार कुन पद्धती अपनाउने भन्ने कुरामा तपाईंले विवेकपूर्ण निर्णय लिनुपर्ने हुन्छ ।

तपाईंले हिन्दु पद्धती अंगाल्दैमा, इसाईहरु पापी हुँदैनन् । पराई हुँदैनन् । तपाईंले इसाई पद्धती अंगाल्दैमा हिन्दुहरु सैतान हुँदैनन् । यस्ता झेली शब्दजाल त तिनीहरुले नै समाजमा छरेका हुन्, जसले धर्म र संस्कारको भेद नबताई त्यसलाई आफ्नो कमाउ धन्दा बनाइरहेका छन् ।

किन हुन्छ ‘धर्म’को चलखेल ? तपाईंलाई यदि कसैले फलानो धर्म लिनुपर्छ भनेर ललाई-फकाई गर्छ भन्ने प्रष्ट हुनुहोस्, ति व्यक्ति ‘धर्म’का व्यापारी हुन् । अहिले समाजमा छ्यापछ्याप्ती यस्ता व्यापारीहर प्रवेश गरेका छन् । उनीहरुले सोझा, निमुखा व्यक्तिलाई आफ्नो फन्दामा पार्ने गरेका छन् । यसरी उनीहरुलाई आफ्नो जत्थामा समावेश गरेपछि उक्त व्यक्तिमाथि आफ्नो अघोषित शासन चल्छ भन्ने नियतबाटै यस्तो काम हुन्छ । जब तपाईंले उनीहरुको सर्त बमोजिम ‘धर्म परिवर्तन’ गर्नुहुन्छ, तब अनेक किसिमको स्वार्थ तपाईंमाथि लादिनेछ । तपाईंमाथि भावनात्मक ब्ल्याकमेलिङ सुरु हुनेछ । तपाईंलाई उनीहरुले पूर्णत आफ्नो जत्थामा सामेल गरिसकेपछि उनीहरुले तपाईंबाट आर्थिक लगायतको लाभ लिनेछ । उनीहरुले आफ्नो प्रचार सामाग्रीदेखि अन्य थुप्रै बस्तु तपाईंलाई भिराउनेछ । यसरी तपाईं थाहै नपाई उनीहरुको एक इमान्दार र अन्धभक्त ग्राहक बन्नुहुनेछ ।