सामुदायिक विद्यालय हाक्दै महिलाहरु,, गुनासा र चुनौतीका बीच जिम्मेवारीमा प्रतिबद्ध

प्रकाशित मिति:

सन्जु पौडेल बुटवल \शिक्षा क्षेत्रमा अग्रणी जिल्लाको रुपमा हेरिएकोे रुपन्देहीमा प्रशस्त विद्यालयहरु स्थापित रहेका छन् । जिल्ला भरिबाट धार्मिक सहित सबै खालका विद्यालयहरुको तथ्याङ्क हेर्दा ७९८ रहेको पाईएको छ । त्यस मध्ये संस्थागत तर्फ आधारभूत मावि र उमावि गरेर ३१२ विद्यालयहरु छन् । त्यस्तै सामुदायिक तर्फ ३६४ विद्यालयहरु छन् । अनि धार्मिक अथवा मदरसा तर्फ १२२ विद्यालयहरु रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संख्यात्मक रुपमा विद्यालय धेरै रहे पनि विद्यालयमा कार्यकारी व्यवस्थापनको पाटो सम्हाल्ने विद्यालय प्रमुख अथवा प्रधानाध्यापकमा महिला अत्यन्त न्युन छन् । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार जिल्ला भरमिा रहेका महिला प्रअको संख्या लगभग ४१ को हाराहारीमा छ । बिभिन्न श्रोत केन्द्रको तथ्याङ्क हेर्दा भैरहवा श्रोत केन्द्रमा ७ जना, बुटवल श्रोत केन्द्रमा ९ जना, मणिग्राम श्रोत केन्द्रमा ६ जना, धगधई श्रोत केन्द्रमा ५ जना मझगावां श्रोत केन्द्रमा १ जना, फर्साटिकर श्रोत केन्द्रमा ७ जना वेथकुईयां श्रोत केन्द्रमा १ जना, पर्रोहा श्रोत केन्द्रमा २ जना लुम्बिनी श्रोत केन्द्र र रुद्रपुर श्रोत केन्द्रमागरी ४१ महिला प्रअहरुले विद्यालय सम्हाली रहेकाछन् । तुलनात्मक रुपमा महिला प्रअ भएका विद्यालयहरुमा विद्यार्र्थीको अनुशासन को हिसाबले बलियो देखिए तापनि नतिजामा कमजोर रहेको आरोप बेला बखत लाग्ने गरेको पनि छ जिल्ला शिक्षा कार्यालयका एक कर्मचारी भन्छन्‘ तर यस्ता विद्यालयहरुका विवाद पनि कम नै आउने गरेको छ । परिवार र विद्यालयको प्रशासकीय प्रमुखको जिम्मेवारीलाई सँगसँगै हिंडाउन सक्षम केही महिला प्रधानाध्यापकलाई यस अंकमा समेटिएको छ ।

हेमकुमारी गौतम
(प्र.अ श्री दुर्गा प्राथमिक विद्यालय पर्रोहा ) 

वि.स २०५७ सालमा स्थापना भएको यस विद्यालयमा बि.स २०६० सम्म पुरुष प्र.अहरु थिए,२०६० सालमा हेमा गौतम यस विद्यालयको प्र.अ भएकी हुन् । उनी प्र.अ भईसकेपछि विद्यालय ३ कक्षाबाट वृद्धि भई कक्षा ५ सम्म पुगेको छ । एउटा महिला व्यवस्थापक,विद्यालय संचालनका लागि चुनौती छ गौतम भन्छिन् ‘महिला भएकै कारण कतिपय सुविधा पाउने कुरामा घच्घच्याइरहन पर्ने अवस्था आउँछन् ।
महिला प्र.अ भएको विद्यालयमा पढाई राम्रो हुन सकेन भन्ने कुरामा उनको बिमति छ , उनका अनुसार अहिले सम्म उनको विद्यालयको नतिजा समग्रमा राम्रै रहेको छ । विद्यार्र्थीहरु भने अनुशासित छन् किनभने विद्यालयमा ४ जना महिला शिक्षकहरुले मात्रै अध्यापन गर्नुहुन्छ र विद्यार्र्थीहरुलाई फकाएर पढाईन्छ । ‘अन्य कुराहरुमा त्यस्तो नभए पनि पर्रोहा श्रोत केन्द्र अन्र्तगत २ वटा महिला मात्र भएकाले होला कहिले काही संयुक्त बैठक बस्दा पुरुष साथीहरुले बोलेको शब्दले नै असर गर्ने । प्राईमरी लेवलको तुलनामा विद्यार्र्थी संख्या धेरै छन् विद्यालयमा७४ जना विद्यार्र्थी छन् ।

उमा कुमारी गोराथोकी
(प्र.अ भुल्के मावि )

उमा बि.स २०४३ सालमा स्थापना भएको यो विद्यालयको पहिलो महिला प्र.अ हुन् । शिक्षा शास्त्रमा स्नाकोत्तर उनी पहिले लक्ष्मी मा.विमा अध्यापन गर्थिन पछि स्थायीमा नाम निकालेपछि भुल्केमा पढाउन थालिन् ।
महिला शिक्षिका तथा प्र.अ हुँदा केही व्यवहारिक समस्या हुन्छन् उनी भन्छिन् ‘सानो बच्चा भएको हुँदा पनि विद्यालय व्यवस्थापन समितीबाटै बच्चा लिएर गई पढाउन पाउने व्यवस्था भएकाले २ महिनाको बच्चा बोकेरै विद्यालयका सहयोगीहरुको हेरचाहमा राखेर समेत पढाउने गरेको अनुभव छ । श्रीमान् विदेश हुनाले आफु अहिले ११ महिनाको बच्चा लिएरै भए पनि खटेको उमा बताउँछिन् । त्यसो त उनलाई प्र.अ भए पछि प्रोत्साहन र सम्मान पनि पाईएको छ जस्तो लाग्छ उनी भन्छिन् सबैले सहयोगी भाव नै व्यक्त गर्नुहुन्छ पहिले भन्दा महिला मैत्री भएको जस्तो लाग्छ । उनलाई पुरुषहरु भन्दा महिला शिक्षक तथा प्र.अ भएको विद्यालयमा विद्यार्थी अनुशासित त हुन्छन् भन्ने बिश्वास छ , भन्छिन‘ किनभने हामीले पुरुष साथीजस्तो रिएक्शन पहिले दिन्नौं साईकोलोजी बुझेर व्यवहार गर्र्छौ ।
बालबालिकालाई फकाएर अध्यापन गर्छौं । शिक्षक हुँदा भन्दा प्र.अ को जिम्मेवारी थपिएपछि ग्राहो हुन्छ नै तर गर्ने खुबी भएपछि गर्न सकिन्छ भन्ने लाग्छ उनलाई ।उनी भन्छिन् बच्चा सानो भएकाले म प्र.अ बन्दिन भन्दा पनि मलाई व्यवस्थापन समिती र साथीहरुको साथ रहेको हो त्यसैले जिम्मेवारी निभाउन प्रतिबद्ध भएर लागेको छु । उनको विद्यालयमा जम्मा जम्मी १५ जना शिक्षक मा ३ जना मात्र पुरुष छन् ।

हिरा भुषाल
(प्र.अ अमुवा आधारभूत विद्यालय मर्चवार )

बि.स २००७ सालमा स्थापित विद्यालय अमुवा आधारभुत विद्यालयमा उनी बि.स २०७० देखी प्र.अको रुपमा छिन् । सबै पुरुष मात्र यसअघि भएका मात्र प्र.अ थिए । उनी आफु प्र.अ भए पछिविद्यालयकोे केही लथालिङ्ग अवस्थामा सुधार गरेको जस्तो लाग्छ । उनी भन्छिन् तर जति गर्न सक्छु क्षमता प्रदर्शन पनि गर्न नपाईने नपच्ने ठाउँमा छु ।
ग्राहो छ छोड्छ् भन्नेमा पुगिसकेको अवस्था पनि सृजना हुन्छ कहिले कांही ।’समाज नै पढाउन नपठाउने खालको छ । ५ मा अध्ययन गर्ने विद्यार्र्थीहहरुको विहे हुन्छ । कोही बिचमै छोडेर बस्छन् । त्यस माथि व्याक्तिगत समस्या त छ नै भैरहवाबाट आउ जाउ साधन नभए त अफ्ठ्यारो । विद्यालयमा अभिभावको गैर जिम्मेवारी पूर्ण व्यवहार अर्को समस्या हो । उनी थप्छिन्् ‘अभिभावक पनि छात्रवृत्ति र मत दिने बेलामा झुल्किने हो ।महिलालाई हेर्ने दृष्टिकोण भाषणमा मात्र परिवर्तन भएको पाएं । अझ आपूm भन्दा उमेर पुगेका शिक्षकले नै नटेर्ने । सहयोग को त कुरै छैन । पुरुष झैं कड्किएर बोल्न नसक्ने स्वभावले पनि केही समस्या हो कि ? जस्तो लाग्छ । श्रोत केन्द्र पनि केही टाढा हुनाले समस्या भएको उनको गुनासो छ ।

लक्ष्मी गुरुङ
(प्र.अ लक्ष्मी मावी बुटवल )

वि.स २०३७ सालमा स्थापना भएको लक्ष्मी माविमा सालझण्डीको विद्यालयमा पढाउने लक्ष्मी त्यहाँ जान आउन ग्राहो भएपछि २०३९ सालमा शिक्षक बनेर आईन् ।जस्ताको छाप्रोमा ३ कक्षासम्म रहेको विद्यालयको स्तरोन्नती गर्दै अहिले भौतिक पूर्वाधार सम्पन्न विद्यालय बनेको छ । जम्मा १६ जना जसमा ६ जना मात्र पुरुषहरु ।
८ जना महिला शिक्षक एक महिला परिचर र एक महिला लेखापाल ।लक्ष्मी संझिन्छिन् ‘ती दिनमा तलब दिन पनि नसक्ने अवस्था थियो, हामी ३ जना हुँदा पनि नगरपालिका अन्य संघसंस्था धाउन पर्ने, सहयोग मागेर चलाईयो चन्दा भैलो बाट अहिले त धेरै राहत छ ।विद्यालयमा कुशल व्यवस्थापकमा बिश्वास गर्ने उनी भन्छिन् एकलौटी निर्णय गर्दिन, सल्लाह गर्छु । अभिभावकले विद्यार्थीहरुको ख्याल नगरेको गुनासो उनी पनि गर्छिन भन्छिन् ‘विद्यार्र्थी त बुवा विदेश आमासँग बसेका, आमा विदेश भए बुवासँग बसेका, आमा बुवा काममा जानेहरुका बालबालिका कहिले खाना नखाई आउने खालका छन् ।
हामीले सरसफाई र अनुशासनमा जोड दिएका छौं । ’ उनका अनुसार अन्यको तुलनामा नतिजा राम्रो नमानिएला तर उनीहरुले दिने शिक्षाको आधारमा सन्तोषपूर्ण छ । लक्ष्मीले थपिन् पहिले त कान्छीबजार भनेर सम्बोधन गर्ने ठाउं । ठाउंको नामले नै अफ्ठ्यारो थियो अहिले विद्यालयकै नामले स्थान परिचित छ । लक्ष्मीसँग जोडिएको लक्ष्मीनगर । प्राविधिक शिक्षा दिन मन भएपनि आर्थिक अभावले सम्भव नभएको उनको भनाई छ ।

लक्ष्मी जिसी
(प्र.अ. जनचेतना निमावी धगधई) ः

बि.स २०४७ सालमा स्थापित यो विद्यालयमा लक्ष्मीले २०५२ सालबाट अध्यापन कार्य शुरु गरेकी हुन् । विहे भएर भैरहवा आएपछि उनले जागिर शुरु गरिन् । १३ वर्ष उनले परासी झुगाँ जहां विधालय छ,त्यही भाडामा बसेर पढाईन् । अहिले उनी भैरहवा बाट आउने जाने गर्छिन् । २०६७ बाट प्र.अ बनेकी उनको विद्यालयमा पहिले पुरुष नै प्र.अ थिए । शिक्षाशास्त्र संकायमा स्नाकोत्तर अध्ययन गरिरहेकी लक्ष्मी आफ्नो जिम्मेवारीबाट सन्तुष्ट रहेको बताउँछिन् ।
त्यस माथि परिवार तथा श्रीमान्को सहयोग निरन्तर छ ।उनी लगायत विद्यालयका ५ जना महिला शिक्षक, एक महिला परिचर र ४ जना पुरुष शिक्षकको टिमले विद्यालयमा अध्ययनरत विद्यार्र्थीहरुको सृजनात्मक कार्यतर्फ पनि ध्यान दिएर ती क्रियाकलापमा विद्यार्र्थीहरुलाई अग्रसर बनाईरहेको उनले बताईन् । धेरै समस्याका बिचमा उनको विद्यालयमा दरबन्दी नखुलेकाले जनशक्तिको कमी छ । एउटैले धेरै विषय पनि पढाउन पर्ने बाध्यता छ जसले गर्दा यो निमावीलाई मावि तर्फ स्तरोन्नति पनि गर्न सकिएन लक्ष्मी गुनासो पोख्छिन् ।

मन्जु नेपाल
( प्र.अ भवानी मावि मोतिपुर सौराहा )

वि.स २०५३ देखि विद्यालयमा अध्यापनरत मन्जुले २०६३ सम्म अस्थायी शिक्षकको रुपमा अध्यापन गरिन् । २०६३ सालमा स्थायी भए पश्चात उनी सहायक प्र.अ भईन् । त्यस पश्चात २०७१ बाट उनी प्र.अ को रुपमा छिन् । प्रा.बि को दरबन्दीमा भए पनि माविको लाईसन्स भएकाले उनलाई प्र.अ को जिम्मेवारी दिइएको छ । महिलाले जिम्मेवारी सम्हालेका विद्यालयको परिणाम राम्रो छैन भन्ने कुरा सँग उनी सहमत छैनन् । उनी भन्छिन् ‘ हाम्रो विद्यालयमा ७ जना महिला र ८ जना पुरुषहरुले अध्यापन गर्छौं ।
विद्यालयमा गत वर्षबाट एसएलसीमा सहभागी हुन थालिएको हो, गत वर्षको नतिजा हेर्दा १३ वटा विद्यालयहरुको तुलनामा बेस्ट थियो , विद्यार्थीहरुको अनुशासनमा फरकपन छैन ’। शिक्षकको रुपमा भन्दा प्र.अ को जिम्मेवारीमा पुग्दा केही दायित्व बढ्दो रहेछ उनी भन्छिन् ‘ विद्यालयमा आर्थिक अभाव भएको शिक्षक साथीहरुले माविमा पढाएको अतिरिक्त तलब माग्दा दिन सकिएको छैन गाह्रो भएको छ , त्यस्तै व्यवस्थापन समितीमा पनि राजनितीक खिचातानीले पूर्णता नै गराउन सकिएको छैन , जसको प्रभाव नियमित काममा पनि पर्दो रहेछ’ ।

दिलमाया थापा
(प्र.अ बहिरा बाल विद्यालय उमावि भैरहवा) 

फरक क्षमता भएका १७१ जनालाई ज्ञानको मार्ग देखाउने अभियानको नेतृत्व गरेकी दिलमाया थापा फरक पहिचान बोकेको विद्यालयलाई हाँक्न पाउँदा गर्व महशुस गर्छिन । नेपाल भित्रका २७ वटा जिल्लाका र केही भारतको नौतनवा क्षेत्रका विद्यार्थीहरुले पढ्ने यो विद्यालयमा थापाले वि.स २०७२ बाट प्र.अ को भुमिका सम्हालेकी हुन् ।
शिक्षा शास्त्रमा स्नाकोत्तर उनी मावि तहको स्थायी शिक्षक हुन् । काठमाण्डौमा पढ्दा केही समय बहिरा विद्यार्थीहरु पढाएको अनुभव बटुलेकी उनी भैरहवा आएपछि केही समय प्राईभेट तर्फ अध्यापन गरेकी उनले त्यसपछि भने नियमित रुपमा सोही विधालयमा पढाईरहेकी छिन् । यस किसिमका फरक क्षमता भएका बच्चाहरुलाई पढाउंदा अन्य भन्दा फरक शैली अपनाउनुपर्छ , उनी भन्छिन् ‘उनीहरुसँग भावनात्मक सम्बन्धले अध्यापन गर्नुपर्छ,उनीहरुले हामीले दिएको शिक्षा अनुशासित भएर ग्रहण गरेका हुन्छन् ।’ विधालयको नतिजाबाट पनि उनी सन्तुष्ट नै छिन्, उनी भन्छिन् ‘विद्यार्थीहरुको मेहनत अनुसार नतिजामा पनि राम्रै मान्नुपर्छ , त्यस माथि यस क्षेत्रको एउटा मात्र यो यस्तो विद्यालय हो त्यसैले पनि पहिचान फरक छ ।’

रेनुका थापा
(प्र.अ ज्ञानोदय आधारभूत विद्यालय , रुद्रपुर )

वि.स २०४६ सालमा स्थापना भएको यो विद्यालयमा थापाले २०५७ बाट पढाउन थालेकी हुन् । प्रा.वि को दरबन्दीमा भए पनि उनलाई बिवालयले २०७१ देखी प्र.अको जिम्मेवारी दिएको छ । ११ जना शिक्षक रहेको उनको विद्यालयमा ६ जना महिला छन् । त्यस विद्यालयको पहिलो महिला प्र.अ उनी आफु माथी थपिएको जिम्मेवारीलाई बोझकै रुपमा भए पनि इमान्दारीता पूर्वक निभाएको बताउँछिन् ।

प्रतिमा गिरी
(प्र.अ. सरस्वती प्रा.वि. मझगावं )

वि.स २०६० मा स्थापना भएको यस विद्यालयमा गिरीले २०६६ देखी पढाउन शुरु गरेकी हुन् । २०६७ देखी प्र.अ को जिम्मेवारी पाएकी उनले २०७१ सालमा विधालय व्यवस्थापन समितिको परिवर्तनसँगै सो जिम्मेवारीबाट च्युत गरिए पनि अहिले भर्खरै पुरानै जिम्मेवारी पाएकी छिन् । विद्यालयको नतिजा तथा अतिरिक्त कृयाकलापमा राम्रो रहेको बताउने गिरी विधालयमा अभिभावकको साथ र राजनैतिक हस्तक्षेप कम गर्न सके सहज हुने तर्क गर्छिन् ।
सामुदायिक विधालयहरुमा जिम्मेवारी सम्हालेका महिला प्रधानाध्यापकहरुको समस्या, गुनासा र भोगाइहरु प्राय एउटै प्रकारका छन् । त्यसो त हरेक सामुदायिक विद्यालयहरुमा आर्थिक व्यवस्थापन, दरबन्दीको अभाव तथा राजनैतिक हस्ताक्षेप र राजनैतिक परिवर्तनका प्रभावहरु उत्तिकै छन् , त्यस माथि सामाजिक रुपमा महिलालाई हेरिने फरक दृष्टिकोण विद्यालयमा पनि पर्न गए त्यसले जिम्मेवारी पाएका शिक्षक तथा प्र.अको मनोवल र उत्साहमा कमी आइ समग्र शैक्षिक व्यवस्थापनमा नकरात्मक असर पुग्न सक्छ ।