प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका ‘बादशाह’ काठमाण्डौबाट पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु – कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘बादशाह’ भनी चिनिने नसिम खानलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार बिहान काठमाण्डौबाट पक्राउ गरेको हो । मायादेवी गाउँपालिका-४ पिपरा गाउँका नसिम खानमाथि जिल्लामा झण्डै एक दर्जन हत्या, आतंक, लुटपाट, अपहरणलगायतका मुद्दाहरु दर्ता गरिएका छन् ।पक्राउ परेका खान प्रहरीबाट बच्नका लागि कपिलवस्तुको सीमावर्ती भारतीय बजार अलीगढवामा आफ्नै निजी घर बनाई बस्दै आएका थिए । सीमावर्ती भारतीय बजार अलीगढवाबाटै कपिलवस्तु जिल्ला भर खानले आफ्नो प्रभाव जमाउँदै आएका थिए ।फरार सूचीमा रहेका खानमाथि सात वटा कर्तव्य ज्यान र एउटा डाँका मुद्दा दर्ता रहेको छ ।

पक्राउ परेका खानमाथि तत्कालीन माओवादीका जिल्लास्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग लागेको छ ।उनीमाथि पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका-४ का वडा अध्यक्ष फतेह मोहम्मदको ५ वर्षीय छोरा मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरीबाट जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो । विगतमा विभिन्न सशस्त्र समूहमा संलग्न रहेका खान तराइका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताको पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए । तर यसका अलावा अन्य व्यक्तिगत घटनासँग सम्बद्ध हत्या तथा अपहरणको मुद्दाका कारण उनी सीमा पारी भारतीय बजारमा बस्दै आएका थिए ।-  उज्यालो