पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा कृषि उपज सहकारी बजार सञ्चालन हुने

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा कृषि उपज सहकारी बजार सञ्चालन हुने भएको छ । सानाकिसान सहकारी संस्था लिमिटेड रामनगर सुनवल १२ को आयोजना र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ बुटवलको सहयोगमा सो बजार सञ्चालन हुने भएको हो ।

यसै आर्थिक वर्षको असार मसान्तसम्म संचालनमा ल्याइने उक्त बजारको भौतिक निर्माण तिव्रताका साथ अगाडी बढि रहेको र उक्त बजार संचालनमा आएपछि किसानलाई चाहिने सम्पुर्ण कृषि सामाग्री र कृषकका उत्पादनले राम्रो बजार पाउने विश्वासका साथ बजार संचालनमा ल्याउन लागिएको संस्थाका संचालक समिती सदस्य एवं भवन निर्माण उपसमिती सदस्य बालकृष्ण भट्राइले बताउनुभयो ।संस्थाको ५० लाख र प्रदेश सरकारको कृषि प्रवद्र्धनका लागि विनियोजित रकम मध्य ५० लाख गरि कुल १ करोडमा करिब ४ कठ्ठा क्षेत्रफलमा १२ कोठाको भवन निर्माण गरि बजार संचालन गरिने संस्थाका व्यवस्थापक भोजप्रसाद चापागाइले जानकारी दिनुभएको छ ।

जिल्लामा कृषि उपज बजारको अभावलाई पुरा गर्न र कृषकलाई प्रोत्साहन गर्न प्रदेश सरकार , स्थानीय तहको सहकार्य र जिल्ला कृषि सहकारी संघ पश्चिम नवलपरासीको पहलमा बजार संचालनका लागि सानाकिसान सहकारी संस्था लिमिटेड रामनगर सुनवल १२ लाई जिम्मा दिइएको र संघले यसको अनुगमन गरि रहेको जिल्ला कृषि सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष एवं सानाकिसान सहकारी संस्था लिमिटेड रामनगरका पुर्व अध्यक्ष उपेन्द्रमान प्रधानले बताउनुभयो ।