‘नेपाल मोस्ट वान्टेड’ बादशाहलाई प्रहरीले आज गर्‍यो सार्वजनिक

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु – कपिलवस्तु जिल्ला प्रहारी कार्यालयले आज जिल्ला प्रहारी कार्यालयका प्रहरी उपरीक्षक दीपशमशेर जबराले नसिम खाँ प्रकाउ सम्बन्धमा पत्रकार सम्मेलन गरी नसिम खानलाई सार्वजनिक गरेको छ । कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सूची (मोस्ट वान्टेड) मा रहेका जिल्ला कपिलवस्तु साबिक पिपरा गाबिस वडा नं. ३ हाल मायादेवी गाउँपालिका वडा नं. ४ पिपरा महम्मद हुसेन मुसलमानका छोरा नसिम अहमद मुसलमान (जाबेद, बादशाह) काठमाडौंंको सिनेमगलबाट हिजो (शनिबार) बिहान पक्राउ परेका छन ।

कपिलवस्तु प्रहरीको समन्वयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको एक टोलीले काठमाडौंको सिनेमगलबाट पक्राउ गरेको हो । पक्राउ परेका नसिम खानविरुद्ध जिल्लामा करिब १ दर्जन हत्या, आतंक, लुटपाट, अपरहणलगायतका मुद्दाहरु दर्ता रहेका छन । नेपाल प्रहरीको मोस्ट वान्डेटको सूचीमा रहेपछि खान कपिलवस्तुको सीमावर्ती भारतीय बजार अलिगढवामा निजी घर बनाई बस्दै आएका थिए । सीमावर्ती भारतीय बजार अलिगढवाबाटै कपिलवस्तु जिल्लाभर उनले प्रभाव जमाउँदै आएका थिए ।

फरार सूचीमा रहेका खानमाथि ७ वटा कर्तव्य ज्यान र १ डाँका मुद्दा दर्ता रहेको छ । पक्राउ परेका खान उपर तत्कालीन माओवादीका जिल्ला स्तरीय नेताहरू राजेन्द्र प्रसाद तिवारी, प्रेम परियार, अकला कोहार, ज्ञानबहादुर सुनार, गा.बि.स. सचिव राम मिलन प्रसाद गुप्ता, शिवपुजन कुर्मीलगायतको हत्या अभियोग लागेको छ । विगतमा विभिन्न सशस्त्र समूहमा संलग्न रहेका खान तराईका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए । तर, उनीमाथि विभिन्न जघन्य अपराधका मुद्दा दर्ता भएको र ती मुद्दाका सिलसिलामा प्रहरीले पुनः पक्राउ गर्ने संकेत पाएपछि उनी सीमावर्ती भारतीय क्षेत्रमा बस्दै आएका थिए ।

खानकै प्रभाव र मुस्लिम बाहुल्य क्षेत्रलाई आफ्नो पक्षमा पार्न उनकी पत्नी फैजिया नसिमलाई नेकपाले समानुपातिक प्रदेश सभा सदस्य पदमा चयन गरेको छ । प्रदेश सभा सदस्य फैजिया नेकपाका केन्द्रीय नेताहरूसँग आफ्ना पति नसिम खानको सबै अभियोग द्वन्द्वका बेला भएको भन्दै माफी दिलाउने पहलमा छिन । गत २०७४ वैशाख १३ गते मायादेवी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष फतेह मोहम्मदका छोरा ५ वर्षीय मोहम्मद अहेमान मुसलमानको अपहरणपछि हत्या गरेको उनीमाथि किटानी जाहेरी परेको छ ।