पाँच विद्यार्थी संगठनद्धारा पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड

प्रकाशित मिति:

विराटनगर – विराटनगरस्थित पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रिय कार्यालय र सेवा आयोगको कार्यालयमा पाँच विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा दुवै कार्यालयमा आईतबार तोडफोड गर्नुका साथै तालाबन्दी गरेका हुन् ।

विश्व विद्यालयले गरेको विज्ञापन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कामहरुलाई तत्काल स्थगन गर्दै छानबिन गर्न माग गर्दै विद्यार्थीसंगठनहरु आन्दोलनमा उत्रिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ चैत ५ गते राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाको नेतृत्वमा समिति गठन गरेको थियो । विभिन्न संगठन आवद्ध विद्यार्थीले विराटनगर–१ पुष्पलाल चोकमा रहेको विश्व विद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् ।

तालाबन्दीका समयमा उपकुलपति घनश्याम लाल दास र रजिष्ट्रार प्रमिला थापा भने कार्यालयमा रहनु भएको थिएन । त्यसैगरी विराटनगर–३ बरगाछीमा रहेको पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगको कार्यालयमा पनि तालाबन्दी गरिएको छ । तालाबन्दी अघि विद्यार्थीहरु तोडफोडमा उत्रिएका थिए ।

दुवै ठाउँमा गरिएको तोडफोडबाट कार्यालयको कम्प्युटर, ल्यापटप, प्रिन्टर, झ्यालका सिसा, टेबुल, गमला, दराज, कुर्सी, नेम प्लेट समेतमा क्षति पुगेको छ । समितिले दिएको सुझावलाई बेवास्था गर्दै असार २० गते शुक्रबार परीक्षा सम्बन्धी कार्यक्रम प्रकासित गरिएपछि विद्यार्थी आन्दोलित बनेको अनेरास्ववियुका नेता भास्कार खनालले बताउनुभयो । निश्चित व्यक्तिलाई सेवा प्रवेश गराउने उदेश्य राखेर गरिएको विज्ञापन खारेज गरेर नयाँ प्रक्रियाबाट मात्र विज्ञापन गर्नु पर्ने विद्यार्थीहरुले माग गरेका छन् । यस विषयमा गत शुक्रबार ध्यानआकर्षण गराउदा पनि क्नै सुनवाई गरिएपछि आन्दोलनमा उत्रनुपरेको विद्यार्थी सङठनका नेताहरुले बताएका छन । – न्युजअफनेपाल