कपिलवस्तुमा ९ प्रतिशत मात्र रोपाइँ

प्रकाशित मिति:

बुटवल – कपिलवस्तुका किसानलाई वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गरेका जिल्लाका किसानहरु अहिले राम्रोसंग पानी नपरेपछि समस्यामा पर्न थालेका हुन् । अहिले सिंचाइ भएको क्षेत्रका किसानले कुलाको पानीबाट र सिंचाइ सुविधा प्रयाप्त नभएका क्षेत्रका किसानले पम्पसेटवाट बिउमा पानी हाल्ने र रोपाइँ गर्ने गरेका छन् । असार महिनाको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त वर्षा नभएपछि कपिलवस्तुका कृषकको चिन्ता बढेको छ । बोरिङ पम्पिङ सेटबाट पानी तानेर राखिएको विउ र रोपाई गरिएको खेतमा समेत प्रयाप्त मात्रामा सिँचाइ नहुँदा खेतमा समेत चिरा पर्न थालेको छ ।

जिल्लामा अहिलेसम्म मात्र ९ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । अहिलेसम्म ५० प्रतिशत रोपाइँ भइ सक्नुपर्नेमा ९ प्रतिशत मात्र रोपाइँ भएको छ, यसले धानको उत्पादन कमी आउने निश्चित भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख राम गोविन्द आर्यले बताए । यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा कपिलवस्तु सहित तराईमा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुन सकेको छैन । धान रोप्न आकासे पानीको पर्खाइमा अहिले किसान सुद्धोधन गाँउपालीका वडा नं २ नन्दनगरका किसान गोविन्द यादवले बताए । समयमा वर्षा नहुँदा धानको बीउ खेतमा ढिलो छरेको र रोपाइँ पनि ढिलो हुने र यसले उत्पादनमा कमी आउन सक्ने उनले जनाए ।

जिल्लाको कुल खेतीयोग्य जमिन मध्ये ७२ हजार हेक्टरमा धान खेती गरिने भए पनि २० प्रतिशतको हाराहारीमा मात्र सिंचाइ सुबिधा रहेको कृषि ज्ञान कार्यालयले जनाएको छ । लामोसमयको खडेरीले नदीनाला, पाखेरी, कुलो, नहरमा पानी सुकेकोले समेत कृषकरु थप मर्कामा परेका छन् । गत बर्ष जेठ अन्तिमबाट रोपाई शुरु भएको थियो तर यस बर्ष कृषहरुले पानी नपर्दा रोपाइँसम्म गर्न सकेका छैनन् ।