लजाउने शिक्षक छोडेर युट्युवतिर लाग्ने ईच्छा

२२ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
101 Shares


काठमाडौं – विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश गर्दैमा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन,’ आदिनाथ माध्यमिक विद्यालय, चोभारका प्रधानाध्यापक जुजुभाइ महर्जनले बताउनुभयो ।

उहाँकै विद्यालयमा यौन शिक्षा पढाइरहेकी शिक्षिका रमिला तामाङ सहमति जनाउनुहुन्छ ‘कक्षाकोठाभित्र प्रवचन विधिद्वारा पढाइएको यौनशिक्षाको विषयवस्तु अपुग छ, किशोर–किशोरी र युवाहरुलाई यस सम्बन्धमा आवश्यक जानकारी गराउन हामीले थप प्रयास गर्नु आवश्यक छ ।

शिक्षिका तामाङले बाहिरका केही गैरसरकारी संस्थाहरुसँग मिलेर यौन तथा प्रजनन स्वास्थ्यको बारेमा विद्यार्थीलाई थप प्रशिक्षण दिने गरेको पनि जानकारी गराउनुभयो । किशोर–किशोरीले यौनशिक्षाका बारेमा जानकारी पाएभने उनीहरुले आफ्ना अभिभावकलाई समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा प्रशिक्षित गर्नेछन् ।

‘प्रजनन अंगका बारेमा व्याख्या गरेर त्यसको संवेदनशीलता र प्रजननसम्बन्धी कामका बारेमा जानकारी गराउनु, विद्यार्थीका जिज्ञासाको जानकारी दिनु र यससम्बन्धमा विकृति हुन नदिनु त कहाँ हो कहाँ, शिक्षिक–शिक्षिकाहरु ल ल आफै पढ भन्दै पढाउँदै नपढाई पाना पल्टाउँछन्’ काठमाडौंको झोछेंका अभिभावक सजना शाक्य भन्नुहुन्छ, ‘म विद्यार्थी हुँदा पनि त्यस्तै थियो, आज पाँच वर्षपछि मेरी बहिनीले पनि त्यही अनुभव सँगालिरहेकी छ ।’ उहाँ लजाउने शिक्षकलाई गैरजिम्मेबार मान्नुहुन्छ, यस्ता शिक्षक शिक्षिकालाई बाहिर पठाएर भिडियो, डकुमेन्ट्री र युट्युबबाट अन्तरक्रियात्मक रुपमा यौनशिक्षा हासिल गराइनुपर्छ भन्नुहुन्छ ।

पछिल्लो समय इन्टरनेटको पहुँच बढ्दै गएपछि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यार्थीमा आवश्यक ज्ञान कथाकोठाभन्दा बाहिरबाट थाहा पाउने अवस्था सिर्जना भएको पनि छ । तर, धेरैजसो स्कुलमा अंग्रेजी, गणित, विज्ञान, नेपाली विषयको छुट्टै विषयगत शिक्षक हुने भएपनि स्वास्थ्य शिक्षा पठाउने छुट्टै शिक्षकको दरबन्दी नहुने, अन्य विषयका शिक्षकले औपचारिकता पूरा गर्नेगरी पढाउने उहाँको भनाइ छ ।

‘यस विषयमा राम्रो दक्खल नभएका र तालिम नलिएका शिक्षकले पढाउँदा समस्या आउने गरेको छ,’ उहाँ भन्नुहुन्छ । तर पछिल्ला वर्ष यसमा सुधार आएको र सामुदायिक विद्यालयमा स्वास्थ्य विषय पढाउने अधिकांश शिक्षकले तालिम पाएका छन् । पहिले स्कुलमा पाठ्यपुस्तक बाहेक यसका विषयमा पढ्न र जान्न खोज्नेका लागि कुनै पाठ्यसामग्री थिएन । तर अहिले स्वास्थ्यसम्बन्धी काम गर्ने धेरै गैरसरकारी संस्थाहरुको सहयोगमा यस्ता विषयमा विद्यर्थीसँग धेरै भन्दा धेरै अन्तरक्रिया हुने गरेको शिक्षिका रमिला तामाङ बताउनुहुन्छ ।

लिङ्ग, लैङ्गिक पहिचान र यौनाङ्गको भूमिका, यौन आकर्षण, यौनानन्द, प्रजननजस्ता विषयहरूको समष्टिगत परिचय यौनशिक्षामा समावेश गरिनुपर्छ । विज्ञहरुका अनुसार, यौन शिक्षाले पुरुष र महिलाको विशेषताका बारेमा अध्ययन गर्दै व्यक्तिको यौनिकताकोे बारेमा पनि वर्णन गर्नुपर्छ । ‘यौनशिक्षाको सामाजिक पक्षको चर्चै गरिन्न । यौन–यौनिकताका विषयमा पर्याप्त ज्ञान नभएकै कारण समाजमा दाम्पत्य जीवनहरु तोडिएका, घर बिग्रेका, बालबालिकाले एकसाथ आमा र बाबुको माया नपाएका समस्या समाजमा यत्रतत्र देखिन्छन्’ सजना भन्नुहुन्छ, यस विषयलाई गम्भीर रुपमा नलिनु पाठ्क्रम निर्माताको मात्र होइन सरकारकै नासमझ हो । यौन शिक्षामा विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक पक्षहरु जोडिएका हुन्छन्, ल ल पढ भनेर विद्यार्थीलाई जिम्मा दिनु दुर्भाग्यपूर्ण हुने विज्ञहरुको धारणा छ ।

विगतमा किशोर–किशोरी र कम उमेरका बालबालिकालाई यौनसम्बन्धी जानकारी दिइँदैन्थ्यो र यस विषयलमा खुलेर कुरा गर्न नहुने मान्यता राखिन्थ्यो । एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदासम्म पनि यौनको विषयमा छलफल गरिंदैन्थ्यो । धेरैजसो यौनका विषयका बारेमा साथी, सञ्चारमाध्यम तथा अन्य अनौपचारिक माध्यमबाट अनुमान गर्दै जानकारी लिनुपर्दा ती जानकारी अपर्याप्त हुने र त्यसले विकृति पनि भित्र्याउने विज्ञहरु बताउँछन् । अहिले विद्यालयकै पाठ्यक्रममा स्वाथ्य र विज्ञानजस्ता विषयमा प्रजनन् स्वास्थ्य, यौन रोग, शरीरका अंगआदिका विषयमा पढाइन्छ । तर, यौन शिक्षाको विषयमा भने थोरै विषयवस्तु राखिएको छ ।

स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. किरण रेग्मीको विचारमा कलिलै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, बीचमै पढाइ छोड्ने, घरेलु हिंसा हुने तथा मातृ मृत्यु र बाल मृत्युदर बढ्ने कारण पनि यौन तथा प्रजनन स्वास्थ्यको सही जानकारी नभएकैले हो भन्नुहुन्छ । ‘बेलैमा यससम्बन्धी जानकारी दिनाले धेरैजसो समस्या समाधान भएर जाने स्वास्थ्यविज्ञ डा. रेग्मी बताउनुहुन्छ ।

स्कुलस्कुलमा इन्टरनेटको सुविधा छ, जसका कारण यो विषय सहज बन्दै गइरहेको छ । तर, इन्टरनेटमा विदेशी च्यानलहरु हेरेर, यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा विदेशी सिको गर्दा नेपाली समाजमा अपाच्य पनि हुनसक्छ । डा. रेग्मी भन्नुहुन्छ, यस्तो अवस्थामा विद्यालयको प्राथमिक तहदेखि नेपाली समाजमा मेल खानेगरी यौन तथा प्रजनन् स्थास्थ्य विषय पढाइ हुनुपर्छ ।

यौन तथा प्रजनन स्वास्थ्यका विषयवस्तु प्राथमिक तहदेखि नै संशोधन र परिमार्जन गरिनुपर्ने शिक्षा विभागका पूर्वमहानिर्देशक डा. लवदेव अवस्थीको पनि धारणा छ । समय र आवश्यकताअनुसार यी विषयवस्तु परिमार्जन र थपघट गर्न सकिने भएकाले सम्बन्धित निकायले यसमा पहल गर्नुपर्ने सुझाव उहाँको छ । यौन तथा प्रजनन स्वास्थ्यका विषयमाथिको संकोच घट्दै गएपछि समाजमा यसको सकारात्मक परिणाम देखिन थालेको उहाँको ठम्याइ छ ।

स्वास्थ्य शिक्षामा समावेश यौन तथा प्रजननका पाठमा स्वास्थ्यको कोण मात्र । कक्षा ६ देखि ८ सम्म पढाइ हुने स्वास्थ्य जनसंख्या र वातावरण शिक्षा विषयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयवस्तु समावेश गरिएको छ भने कक्षा ९ मा स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षालाई अनिवार्य बनाइएको छ । यस्तै कक्षा ११ र १२ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अलग्गै विषयको रूपमा पढ्न पाइन्छ । यी विषयमा महिला र पुरुषका प्रजनन अंगहरू, सुरक्षित यौनसम्पर्क, किशोर–किशोरीमा आउने शारीरिक परिवर्तन, प्रजनन प्रक्रिया, एचआईभी र अन्य स्वास्थ्यसम्बन्धी विषयवस्तु समावेश गरिएको छ । – न्युजअफनेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया