‘सार्क फिल्म फेस्टिभल’ मा स्वस्तिमाले जितिन् अवार्ड

प्रकाशित मिति:

काठमाडौँ –श्रीलंकामा आयोजित ‘दी सार्क फिल्म फेस्टिभल २०१९’ मा गत वर्ष प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित डेब्यू फिल्म बुलबुलु ले अवार्ड हात पारेको छ । यो फिल्ममा जीवन्त अभिनय पस्किएकी अभिनेत्री स्वस्तिमा खड्काले यस फिल्म फेस्टिभलमा ‘वेष्ट पफर्मर जुरी अवार्ड(२०१९’ जितेकी हुन् । अवार्ड जितेपछि उनले फेसबुकमार्फत् आफ्ना प्रशंसकसँग खुसी साटेकी छन् ।

स्वस्तिमाले फिल्मी करिअरमा पहिलो पटक अवार्ड जितेकी हुन् । उनले ‘सार्क फिल्म फेस्टिभल’ मा जितेको अवार्ड बुलुटिमलाई समर्पित गर्न चाहने फेसबुकमा उल्लेख गरेकी छन् । अवार्ड जितेपछि उनले आफू निकै खुसी भएको प्रतिक्रिया दिएकी छन् । जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेस्टिभलमा सहभागी हुन उनी गएको हप्ता श्रीलंका पुगेकी थिइन् ।
बुलबुल सँगै यस फेस्टिभलमा प्रसादु र हरि ले पनि नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । अवार्ड जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै स्वस्तिमाले भनिन्, ‘पहिलो अवार्ड नै अन्तर्राष्ट्रिय पाएँ । एकदमै खुसी छु । यो अवार्डले अझै उत्साहित भएर काम गर्न प्रेरणा मिलेको छ ।’ अवार्ड पाउँदा आफूले देशलाई सम्झिएको उनको भनाई छ ।

यसअघि सार्क फिल्म फेस्टिभल २०१४मा फिल्म झोल बाट अभिनेत्री गरिमा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यसयता कुनै नेपाली फिल्मबाट अभिनेत्रीले अवार्ड जित्न सकेका थिएनन् । यद्यपि, २०१७ मा ‘डाइङ क्यान्डल’ बाट उत्कृष्ट सम्पादकको अवार्ड भूपेन्द्र अधिकारीले जितेका थिए । भने, ‘कालो पोथी’ ले उत्कृष्ट फिल्म ओपन अवार्ड हात पारेको थियो ।व्यावसायिक सफलतामा पछि परे पनि बुलबुल लाई समीक्षकले निकै प्रशंसा गरेका थिए । अहिले यो फिल्मले विदेशमा आयोजना हुने विभिन्न फेस्टिभलहरुमा सहभागिता जनाइरहेको छ । निर्देशक पौडेल फिल्मको प्रदर्शनका लागि केही हप्तायता अमेरिकामा छन् । उनले आफ्नो डेब्यू फिल्मले ‘सार्क फिल्म फेस्टिभल’ मा अवार्ड जितेपछि खुसी व्यक्त गरेका छन् । यसमा अभिनेत्री खड्काको अपोजिटमा मुकुन्द भुषालको अभिनय छ ।