उपाधि जित्न नेपाललाई मात्र ९६ रनको जरुरी

२४ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
58 Shares

तस्वीर – एसीसी

                                                             हङकङको कमजोर प्रदर्शन

काठमाडौं – डिफेन्डिङ च्याम्पियन नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नजिक पुगेको छ । उपाधि रक्षाका लागि अहिले हङकङसंग खेलिरहेको नेपालले मात्र ९६ रनको लक्ष्य पछ्याइरहेको छ । किन्रारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेपछि हङकङ सस्तैमा आउट भयो । नेपालले निकै सशक्त बलिङ गरेपछि हङकङ ४३.१ ओभरमा अलआउट भएर ९५ रन मात्र बनाउन सक्यो ।

सागर ढकाल एक्लैले ५ विकेट लिएका छन् । सागरले १० ओभरमा १८ रन खर्चेर ५ विकेट लिएका हुन् । सोमबार सेमिफाइनलमा मलेसियामाथि ७ विकेटको जित निकाल्दा ३ विकेट लिएका थिए । त्यसैगरी कमल सिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए । हङकङका तीन खेलाडीले मात्र दोहोरो स्कोर खडा गरेकामा अदित गोरावाराले २४ रन बनाएका थिए । हङकङले सेमिफाइनलमा सिंगापुरलाई डीएल म्याथड अनुसार वर्षाले खेल रोकिँदा ५१ रनको जित पाएको थियो

समूह चरणमा अपराजित रहँदै नेपाल समूह विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया