पुष्पा भुषाल भन्छिन – ‘मन्द विष खुवाएर सरकारले जनसंख्या घटाउन लाग्यो’

२४ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
309 Shares

File Image

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ पुष्पा भुषालले मन्द गतिमा विष खुवाएर सरकार जनसंख्या घटनाउनतिर लागेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक भुषालले तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्राउन दिने सरकारको निर्णयतर्फ लक्षित गर्दै ३ करोड भन्दा कम जनसंख्या पनि सरकारलाई बढी भएको हो ? भन्दै प्रश्न गरिन् ।

“सरकार किन नेपाली जनतालाई माया गर्दैन ? आज यो सरकारले जनसंख्या किन घटाउन खोज्दैछ ? विषादीयुक्त तरकारी र फलफूल आयात गरेर त्यो खान किन बाध्य पार्दैछ सरकार ? मन्द गतिमा विष खुवाएर सरकार जनसंख्या घटाउनतिर किन लाग्यो ?” उनले प्रश्न गरिन् । उनले सोबारे सरोकारवाला मन्त्रालयको जवाफ माग गर्दै जवाफ चित्तबुझ्दो नआए संसद चल्न नदिने चेतावनी पनि दिइन् ।त्यस्तै, उनले निहत्था नागरिकमाथि सरकारले गोली चलाएको भन्दै त्यस्तो अधिकार कसले दियो भन्दै प्रश्न पनि गरिन् । विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या भएको दाबी गर्दै उनले सरकारले मानवअधिकारको धज्जी उडाएको बताइन् ।

“संविधानभन्दा माथि गएर यो सरकारले मनपरितन्त्रबाट शान्ति सुरक्षालाई भंग गर्ने किसिमको काम गर्न पाउँदैन,” सचेतक भुषालले भनिन्, “जब सरकारले कानुन भन्दैन, संविधान मान्दैन, सरकार निरंकुश हुन्छ । जब सरकारले नै शान्ति सुरक्षा भंग गर्छ भने समाजमा रहेका अपराधीहरु न सरकारसँग डराउँछन्, न कानुनसँग । सरकार संविधानमा लेखेको कुरा पालना गर्न तयार हुने हो कि होइन ?”कांग्रेसले माओवादीको १० वर्षे सशस्त्र युद्धलाई शान्ति प्रक्रियामा ल्याएर हल गरेको स्मरण गराउँदै उनले निहत्था नागरिकको हत्या किन हुँदैछ भन्नेमा सरकारको जवाफसमेत माग गरिन् । – बाह्रखरी 

फेसबुकबाट तपाईको प्रतिक्रिया