प्रधानमन्त्री ओली र पत्नी राधिकालाई दिइयो राष्ट्रिय परिचयपत्र

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उgलाई सो परिचयपत्र हस्तान्तरण गरे। सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको छ।

नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ। विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ। सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ। – रासस