‘सिरिन्ज आक्रमण’ गरेको भन्दै झुटो आरोप लगाइएका पाठक थुनामुक्त

प्रकाशित मिति:

काभ्रे – धुलिखेल जाने बसमा ‘सिरिन्ज आक्रमण’ गरेको आरोप लगाउँदै स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका युवक थुनामुक्त भएका छन् । अनुसन्धानका क्रममा उनी घटनामा संलग्न भएको हुनसक्ने कुनै प्रमाण नभेटिएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठक थुनामुक्त गरिएको हो । प्रहरीले पीडित भनिएकी महिलामाथि ‘सिरिन्ज आक्रमण’ भएको हो/होइन भन्ने विषय पनि निर्क्यौल भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जयराज सापकोटाका अनुसार गएराति भएको छलफलबाट दुवै पक्षबीच सहमति पनि भएपछि उनलाई हिरासतबाट निकालिएको थियो । प्रहरीका अनुसार अहिले पीडित महिलाको टेकुको शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रबाट रिपोर्ट आएपछि थप कारबाही गर्ने/नगर्ने भन्ने निर्क्याैल हुन्छ । धुलिखेल जाने बस चढेकी १९ वर्षीया किशोरीलाई एकाएक पाखुरामा चस्स दुखे जस्तो भएको थियो । शंकास्पद सिरिन्ज आक्रमणको समाचारहरु सुनेकी उनी आत्तिएर अगाडि पछाडि हेरिन् । नजिकै बसेका पुरुषलाई, ‘हानिस् कि क्या हो..’ भन्दै कराइन् । उनको छेउमा रहेका खगेन्द्रप्रसाद पाठकले ‘होइन’ भन्दै प्रतिवाद गरे ।

स्याङ्जाका पाठकले बताएअनुसार उनी धुलिखेलमा उपचाररत दाइलाई भेट्न हिँडेका थिए । एकाएक सिरिन्ज आक्रमणको आरोप लागेपछि उनी पनि डराए । केहीबेरमा एक महिला बसमा चढिन् । पाठकले उनलाई सिट छाडिदिए र बनेपा चारदोबाटो आएपछि ‘यही उत्रिनुपर्‍याे’ भन्दै बसबाट झर्न खोजे । त्यसपछि सुई हान्ने यही हो भन्दै भीडले घेरा हालेर कुटपिट गर्न थालेको थियो । नजिकै रहेको प्रहरीले पाठकलाई नियन्त्रयणमा लिए तर, भीडले उनलाई छाडेन । प्रहरीले जोगाउँदा जोगाउँदै पनि पाठकमाथि दुई चार मुक्का बज्रिएको थियो ।