खेतबारी बाँजो नराख्ने अभियान ,अर्गानिक उत्पादन सगै रोजगारी बन्दै कृषि

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल स्याङ्जा – नेपाल सरकारले खेतबारी बाँजो राख्न नपाईने नीति अगाडी बढाएका बेला गल्याङ् नगरपालिकाले सामुहिक कृषि खेती कार्यक्रम अगाडी सारेको छ । अर्गानिक उत्पादन सगै बाँजो जमिनको सदुपयोग गर्न नगरपालिकाले यो अभियान अगाडी बढाएको हो । गल्याङ नगरपालिका वडा नम्वर १० भौगोलिक दृष्टिकोणले पनि अत्यन्तै विकट वडाको रुपमा रहेको छ । मकै, धान, कोदो, गहुँ उत्पादन हुने यो वडामा बाँदरका कारण खेतवारी बाँजो अवस्थामा रहेका छन् ।

वडाले बाँदरले नष्ट नगर्ने कृषिको पहिचान गरी गतबर्ष देखि कागती, कुरीलो खेती सगै यो बर्षबाट सामुहिक टिमुर खेती लगाउन किसानलाई जगाउन थालेको छ । उत्पादनको मात्र हेरेर कुन क्षेत्रमा के खेती लगाउदा उत्पादन हुन्छ भन्ने परिक्षण गरी सोही खेतीमा किसानहरुलाई खेती लगाउन लगाएको वडा अध्यक्ष ध्रुवशर्मा पंगेनीले बताए । टोल अनुसार किसानलाई विभिन्न खेती लगाउन आग्रह गरेका छौं वडा अध्यक्ष पंगेनीले भने,“बाँदरबाट जोगिन सक्ने उत्पादनलाई मात्रै हामीले जोड दिएका छौं ।” किसानलाई कृषि उत्पादनका लागि पानी बाधक बनेको थियो नै त्यो माथी फेरी पछिल्लो समय बाँदर बाधक बनेको छ पंगेनीले भने । बन्यजन्तुले नष्ट गर्न नसक्ने खेती तर्फ आर्कशित गर्न यो पटक सामुहिक टिमुर खेती लगाउन शुरु गरेको अध्यक्ष पंगेनीले बताए ।  साढे १ हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै सामुहिक टिमुर खेतिमा लाखुडाँडावासी अहिले लागेका छन् । बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जन समेत गर्न सकिने भएकाले सामुहिक टिमुर खेतिमा लागेका छौं स्थानीय लिला सारुले भनिन्,“बाँदरले खेतीपाती नष्ट गरेर हैरान पारेपछि बाँजो राखेका थियौं ।” यो खेती बाँदरले खादैन भन्ने सुनेर टिमुर लगाउन थाल्यौ सारुले भनिन् ।

यहाँका ५० घरधुरीले देविभञ्याङ टिमुर व्यवसायिक कृषि समुह गठन गरी सामुहिक टिमुर खेति लगाएका छन् । पछिल्लो समय बन्यजन्तुले अन्नबाली तथा फलफूलहरु खाईदिने गरेकाले टिमुर खेति लाभदायिक हुने सारुको विश्वास छ । हामी टिमुर खेतिमा जागरुक छौँ अर्का किसान टेकबहादुर सिंजालीले भने,“टिमुर खेतिको संभावना देखिएकाले टिमुर खेति लगाउन शुरु गरेका हौँ ।” अघिल्लो वर्ष वडामा ७ सय टिमुरका विरुवा परिक्षणका रुपमा लगाईएको र टिमुरका लागी चाहिने हावापानी समेत यहाँ मिल्दोजुल्दो भएकाले टिमुरको संभावना देखिएको सिंजालीले बताए । विदेश जानु भन्दा यही के गरौ भन्ने लागेर टिमुर खेतीमा लागेको सिंजालीको भनाई छ । गाँउमै नर्सरी बनाएर समुहले विरुवा समेत उत्पादन गरेका छन् । सिजन अनुसार नर्सरीमा विरुवा उत्पादन गर्दै सामुहिक तरकारी खेती समेत गरेको नर्सरी उत्पादक लक्ष्मण शाहीको भनाई छ । यो पटक २५ सय टिमुरका विरुवा लगाइएको वडाले जनाएको छ ।  वडालाई अर्गानीक वडाको रुपमा विकास सगै कृषिका माध्यमबाट युवालाई विदेश पलायन रोक्न सामुहिक टिमुर खेति, सामुहिक कागती खेति, कुरिलो खेतिलाई समेत वडाले प्राथामिकता दिएको अध्यक्ष पंगेनीको भनाई छ । अहिले सम्म ८ हजार कागती, ५ सय कुरीलो लगाईसकेको वडाले अर्गानीक कृषि सगै होमस्टे अवधारणा पनि अगाडी सारेको छ । किसानको माग अनुसार अनुदान दिएर उनीहरुको आर्यआर्जनमा टेवा पुग्ने अभियानलाई बढवा दिएको अध्यक्षको भनाई रहेको छ ।  मानव जीवनमा टिमुर परम्परादेखि नै सर्वसाधारणले मसलाको रुपमा प्रयोग गर्दै आएको बहु उपयोगी र औषधिय गुण भएको एउटा महत्वपूर्ण फल हो । विशेष गरी अचार, सिस्नोको तरकारी, च्याउको परिकार वनाउँदा यसको मसला अनिवार्य जस्तै मानिन्छ । टिमुरको फल वोक्रा र वीउलाई दन्त मञ्जन, सावुन, अत्तरको रुपमा प्रयोग गरिदै आइएको छ । बहुउपयोगी एवं औषधिय गुण भएको टिमुरको बजार माग अधिक रहेकोले यसको खेतीवाट मनग्य आर्थिक लाभ लिन सकिने विश्वास लिइएको छ ।