इपिएस भाषा परीक्षा उत्तीर्णको सिप परीक्षण पहिलो पटक काठमाडौंमा

प्रकाशित मिति:

काठमाडौं – दक्षिण कोरियाली रोजगारीका लागि भाषा परीक्षा पास गरेका परीक्षार्थीको काठमाडौंमै सिप परीक्षण हुने भएको छ। कोरिया आफैंले कोरियाली प्रविधिबाट सिप परीक्षण गराउने कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ। आगामी भदौ ४ गतेदेखि १८ गतेसम्म हुने सिप परीक्षण पहिलोपटक काठमाडौंमा हुन लागेको हो। सिप परीक्षण हुने स्थानका बारेमा भने इपिएस शाखाले नै पछि निर्णय गर्ने बताइएको छ।

इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले भने, ‘सिप परीक्षण गर्न कोरियाली प्रविधिसहितको टोली काठमाडौं आउँछन्, हामीले स्थान मात्रै निर्धारण गर्ने हो।’ भण्डारीका अनुसार हालसम्म सिप परीक्षण केन्द्रको छनोट भइसकेको छैन। सिप परीक्षणमा गत असार १३ गते प्रकाशित भएको कोरियाली भाषा परीक्षाको नतिजामा उत्तीर्ण भएका परीक्षार्थी सहभागी हुन पाउने छन्। जसका लागि परीक्षार्थीले आसार २० गतेदेखि २९ गतेसम्म सिप परीक्षणका लागि आवेदन फारम भरिसक्नु पर्नेछ।

सिप परीक्षणबाट ६ हजार ७ सय मात्रै छनोट हुने – यस वर्षको कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना कामदार उत्तीर्ण भएका छन्। जसमध्ये ९ हजार १ सय ३३ जना उत्पादनमूलक कामका लागि र २ हजार ८ सय ७६ जना कृषिका लागि उत्तीर्ण भएका छन्। यी दुवै क्षेत्रको परीक्षामा उत्तीर्णमध्येबाट यो वर्ष कोरियाली सिप परीक्षण गरी ६ हजार ७ सय कामदारमात्रै छनोट गर्ने बताइएको छ। जसमा उत्पादनमूलक कामका लागि ४ हजार ७ सय कृषि तथा पशुपालन कामका लागि २ हजार कामदार कोरियाले छनोट गर्नेछ।

कोरियामा अघिल्ला वर्षका तुलनामा रोजगारीका अवसर कम हुँदै गएकाले भाषा परीक्षा पास गरेका परीक्षार्थीबाट करिब आधा मात्र सिप परीक्षणबाट छनोट हुने इपिएस शाखाका प्रवक्ता भण्डारीले बताए। भाषा परीक्षा पास गरी सिप परीक्षणमा समेत छनोट भएका ६ हजार ७ सय कामदारबाट पनि सबै कामदार रोजगारीका लागि कोरिया जान पाउने ग्यारेन्टी दिन नसकिने उनको भनाइ छ।

‘कोरियामा कति कामदार आवश्यक पर्छन्, त्यति कामदार मात्रै कोरियाली सरकारले माग गर्छ, भाषा पास गर्नु र सिप परीक्षण पास गर्नु कोरिया जान योग्य हुनु होइन,’ प्रवक्ता भण्डारीले स्पष्ट पारे। ‘कोरियाको विकासका लागि धेरै कामदार आवश्यक पर्ने भयो भने कोरियाले छनोट गरेका सबै कामदारको माग गर्न सक्छ, होइन भने आवश्यकताअनुसार मात्र लैजान्छ,’ प्रवक्ता भण्डारीले थपे। कोरियाले भाषा परीक्षासँगै सिप परीक्षण प्रविधिलाई पनि यसपटकबाट कार्यान्वयनमा ल्याएको हो।

सिप परीक्षण कसरी गरिन्छ? कोरिया भाषा परीक्षामा उत्तीर्ण भएका कामदारको सिप परीक्षण गर्दा शारीरिक अवस्था कस्तो छ, कान कम सुन्ने वा नसुन्ने, दृष्टिशक्ति, दिमागको तीक्ष्णता जस्ता शारीरिक अवस्था परीक्षण गरिनेछ। त्यस्तै कामदारको अन्तवार्ता पनि सिप परीक्षण भित्रै समावेश गरिनेछ।

पूरा विवरण यहाँबाट हेर्नुहोस् सिप परीक्षण गर्दा कोरिया कुन कामका लागि रोजगारीमा जान लागेको हो, सोही गरेर देखाउनु पर्ने इपिएस शाखाले जनाएको छ। प्रवक्ता भण्डारी भन्छन्, ‘उत्पादनमूलक कामका लागि जानुपर्ने हो भने कामदारले मेसिन चलाउन वा कुनै सामग्री फिटिङ कसरी गर्ने भनि प्रयोगात्मक रुपमा देखाउनु पर्दछ। कृषि काममा जाने कामदारले कृषिसम्बन्धी काम गरेर देखाउनु पर्नेछ।’

कुन शीर्षकमा कति अंक? – इपियस कोरिया शाखाले उत्पादनमूलक र कृषि दुवै क्षेत्रका कामदार लिन लिखित तथा सिप दुवै परीक्षण गर्छ। उत्पादनमूलक क्षेत्रमा यी दुवै खालका परिक्षाको अंक बराबर तोकिएको छ। लिखित परीक्षाको १ सय र सिप परीक्षणको १ सय गरी कूल २ सय पूर्णांकमा पर्शीक्षार्थीको क्षमता जाँच गरिन्छ। सिप परीक्षणतर्फ शारीरिक स्फुर्ति र अन्तर्वार्ताका लागि समान ३०/३० तथा सामान्य सिप जानेको हकमा ४० अंक गरी कूल १ सय अंकमा जाँच हुनेछ।

कृषि क्षेत्रका हकमा भने कूल २ सय पूर्णांकमा लिखित परिक्षामा ९० र सिप परीक्षणका लागि भने १ सय १० अंक छुट्याइएको छ। सिप परीक्षणअन्तर्गत प्रशिक्षार्थीले शारीरिक स्फुर्ति र अन्तर्वार्ताका लागि ३०/३० तथा सामान्य सिप शीर्षकमा ५० अंकको परिक्षा दिनुपर्नेछ। दुवै क्षेत्रकाै परीक्षामा सामेल अनुभवी, तालिमप्राप्त तथा शैक्षिक योग्यता र सरकारी अनुभवको प्रमाणपत्र भएका प्रशिक्षार्थीहरुलाई भने अतिरिक्त ५ अंक दिइनेसमेत इपिएस कोरिया शाखाले जनाएको छ। असोज १३ गते सिप परीक्षणको नतिजा प्रकाशित हुने शाखाले उल्लेख गरेको छ। कोरियाले सन् २००८ देखि नेपाली कामदार इपिएस प्रणालीमार्फत कोरिया लैजान थालेको हो। सन् २००८ देखि हालसम्म इपिएस भाषा परीक्षा पास गरी ६२ हजार २ सय २७ जना कामदार कोरिया पुगिसकेका छन्। जसमध्ये ५८ हजार ५ सय १७ जना पुरुष र ३ हजार ७ सय १० जना महिला कामदार छन् । – नेपाललाइभ