संसद बैठकमा नाराबाजीः सभामुखले बोल्नै दिएनन, कांग्रेस र राजपाका सांसद जंगीए

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुको अवरोधका बीच सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको आजको बैठक सञ्चालन गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । बिरोधबीच नै सभामुखले बैठकको कार्यसुची अगाडि बढाउनुभएको हो । यसअघि भने अवरोध भएपछि कसैलाई बोल्न दिइने प्रचलन थियो ।

पटकपटक अवरोधका बीच नै सभामुखले बैठक चलाउन थालेपछि नेपाली कांग्रेसले सभामुखलाई स्वतन्त्र भएर संसद सञ्चालन गर्न अनुरोध गर्दै आएका छन् । कांग्रेसले सभामुख सरकारको आदेशमा चलेको पनि आरोप लगाएका छन् । संसदीय मर्यादा कायम गर्न सांसदहरुको माग छ । सांसदहरुले रोष्ट्रम घेराउ गरी नाराबाजी गरिरहेका बेला त्यसलाई कुनै वास्ता नगरी सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमानत तेईसौ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिनुभएको थियो ।

सचिव योगीले नाराबाजीकै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाउनुभएको थियो । कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै हिजो पनि बैठक अवरुद्ध गरेका थिए । हिजो पनि १५ मिनेटका लागि स्थगित बैठक सूचना टाँसेर आजसम्मका लागि सरेको थियो । संसदको अर्को बैठक ३० गते बस्नेछ ।