विषादी परीक्षण स्थगित गर्ने सरकारको निर्णय तत्काल कार्यान्वनय नगर्न सर्वोच्चको आदेश

प्रकाशित मिति:

काठमाडौँ -आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सो अन्तरिम आदेश न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले दिएको हो । सर्वोच्चको अन्तरिम आदेशमा मन्त्रिपरिषदको असार १८ गते विषादी परीक्षण सम्बन्धमा गरिएको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते विदेशबाट नेपाल आयात हुने तरकारी तथा फलफूलका विषादी परीषण गर्ने राजपत्रमा प्रकाशित गरेको थियो । काठमाडौंस्थित भारतीय दूतावासले परीक्षण रोक्न भन्दै पत्र पठाएपछि सरकारले १८ गते तयारी नपुगेको भन्दै परीक्षण स्थगित गर्ने निर्णय गरेको थियो ।सर्वोच्चले यस विषयमा असार ३० गते रीट निवेदनकर्ता र विपक्षी सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ । छलफलबाट टुंगो नलाग्दासम्म विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले तत्काल विषादी परीक्षण नगर्ने सरकारको निर्णय उपभोक्ता संरक्षण ऐन २०७५ र मुलुकी अपराध संहिता २०७४ विरुद्ध रहेको वा नरहेको प्रश्न उठेको बताएको छ ।