गगन थापा बिरुद्ब फेरी अर्को षड्यन्त्र

प्रकाशित मिति:

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापालाई अमेरिकी दूतावासको १२ वर्ष पुरानो एक गोप्य रिपोर्ट ९केबल० लाई लिएर विवादमा ल्याउने प्रयास सुरु भएको छ । थापाले यसलाई आफूप्रतिको गम्भीर षड्यन्त्र भनेका छन् । अमेरिकामा मुख्य कार्यालय रहेर नेपाली भाषामा पनि प्रकाशन हुने अनलाइल पोर्टलले गगन थापालाई १२ वर्ष अघि दूतावासको मुख्य सम्पर्क व्यक्तिमा राखिएको रिपोर्टबारे समाचार लेखेको छ । उक्त पोर्टलले अमेरिकी दूतावासले २०६४ चैत २८ मा निर्धारित पहिलो संविधानसभा चुनावताका तयार गरेको एक गोप्य रिपोर्टमा थापालाई ‘दूतावासको मुख्य सम्पर्क’ अर्थात् ‘कि एम्बेसी कन्ट्याक्ट’ का रूपमा उल्लेख गरिएको बारेमा समाचार लेखेको छ ।

गगन थापाले आफूप्रति ‘गलत नियत’ राखेर उक्त पुरानो रिपोर्टमाथि समाचार प्रकाशित गरिएको भन्दै गम्भीर आपत्ति प्रकट गरेका छन् । उनले यो सूचना आठ वर्षदेखि गुगलमा सार्वजनिक रुपमा उपलब्ध भए पनि आफूसँग कुनियत राखेर अहिले प्रचारबाजी गर्न खोजिएको बताएका छन् । थापासँगै तत्कालीन एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, कांग्रेस नेतृ सुजाता कोइराला र नेता प्रकाशशरण महतलाई समेत अमेरिकी दूतावासले ‘कि एम्बेसी कन्ट्याक्ट’ कै रुपमा उल्लेख गरेको थियो । तर अहिले आफ्नो नाम मात्रै उल्लेख गरिएर समाचार आउनुलाई आफूले गम्भीर षड्यन्त्रका रपमा लिएको नेता गगन थापाले बताए । दूतावासले किन थापालगायतलाई त्यसरी परिचित गरायो भन्ने अमेरिकी दूतावासले जवाफ दिएको छैन । रिपोर्टमा गगन थापालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पार्टी नेपाली कांग्रेसमा ‘कि एम्बेसी कन्ट्याक्ट’ भनी उल्लेख गरिएको छ। दूतावासका तत्कालीन उपनियोग प्रमुख तथा हालका राजदूत र्‍यान्डी बेरीले पहिलो संविधानसभा चुनावको निर्धारित मितिभन्दा ३८ दिन पहिले उक्त कूटनीतिक केबल तयार गरेका थिए।

रिपोर्टमा थापालाई उद्यृत गर्दै नेपाली कांग्रेसले युवा उम्मेद्वार बनाउन चुकेकाले पार्टीले चुनावमा युवा जमातको समर्थन गुमाउने, तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइराला शारीरिक रूपले कमजोर रहेकाले चुनाव प्रचारमा उपस्थित हुन नसक्ने र पार्टीका धेरै असन्तुष्ट नेताले आफ्नै उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दिनसक्ने उल्लेख छ। साथै, नेपाली कांग्रेस नेतृत्वको सरकारले मधेशी शक्तिलाई बढी अधिकार दिएको भन्दै पार्टीको गढ मानिने तराई क्षेत्रमा बसोबास गर्दै आएका धेरै पहाडेमूलका कांग्रेस समर्थकले तत्कालीन एमालेलाई भोट दिनसक्ने थापाले बताएको रिपोर्टमा उल्लेख छ। उनले आफूले राजनीतिक तथा कुटनीतिक व्यक्तिहरुलाई भेट्नु कुराकानी गर्नु राजनीतिको अनिवार्य पाटो भएको बताउँदै मुलुकका लागि गोप्य ठहरिने कुरा कसैसँग नगरेको दाबी गरेका छन् । राजनीतिक भेटघाट सबैसँग हुन्छ, राजदूतहरुसँग पनि हुन्छ , म धेरै देशहरु घुमेको पनि छु, त्यहाँका राजदूतहरुसँग फेरि पनि भेट होला, तर भेटघाटको विषयलाई अन्यथा प्रचार गरिनु कुनियत हो, सत्य लुक्दैन’, थापाले भन्नुभयो ।