सम्पादकहरुसँग पत्रकार आचारसंहिता सम्बन्धी छलफल

प्रकाशित मिति:

काठमाडौ । सम्पादकहरुसँग पत्रकार आचारसंहिता सम्बन्धी छलफल, चालु आर्थिक बर्षभित्र नेपाली पत्रकारिताको अवस्था तथा अनुगमनबारे अन्तरक्रिया सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नेपाल पत्रकार महासंघ र काउन्सिल मिलेर २०७३ सालमा जारी आचारसंहिताले सबै पक्षलाई बद्लिदो सन्दर्भमा समेट्न नसकेकाले प्रभावकारी सुझावको अपेक्षासहित यसबर्ष असोज ६ गते हुने स्वर्ण जयन्तीको अवसरमा परिमार्जित आचारसंहिता ल्याउनको निम्ति यो कार्यक्रम राखिएको बताउनुभयो । का वा अध्यक्ष श्रेष्ठले काउन्सिलमा आचारसंहिता उल्लंघनसम्बन्धीे उजुरीहरुको चाप बढेको भन्दै पत्रकारमा गैरजिम्मेवारीपना बढेको उल्लेख गर्नुभयो । उहाँले पीडित र मिडियाबीच सम्बन्ध सेतुको रूपमा काउन्सिलले भूमिका खेल्नको लागि थप के गर्न सकिन्छ सुझावको आधारमा आचारसंहिता निमार्णमा सहयोग पुग्ने बताउनुभयो ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले २०४८ सालको ऐनअनुसार बनेको आचारसंहिता पढेपछि कहाँ–कहाँ के–के परिमार्जन गर्न सकिन्छ थाहा हुने बताउनुभयो । स्वतन्त्र प्रेसलाई राज्यले नियन्त्रित बनाउन खोज्नु र्दुभाग्य भएको उहाँको धारणा थियो । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विद्ययक अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै पटकपटक सडककमा जानुपरेको अध्यक्ष आचार्यको गुनासो थियो । विद्ययकमा भएको त्रुटीलाई सच्याएर मात्र पास गर्नुपर्नेमा जोड दिदैं उहाँले महासंघले वार्ता,संवाद र अन्तरक्रियाबाट समस्या समाधान गर्न दवाव दिएको बताउनुभयो । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले नियमित रुपमा सबै प्रकारका सञ्चारमाध्यमहरुको अनुगमन गरिरहेको जानकारी दिनुभयो । अनुगमनबाट प्राप्त रिपोर्टअनुसार आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गरिने उहाँले प्रस्ट पार्नुभयो। मुअ भुसालले अवज्ञाकारीको सूचिमा परेका सञ्चारमाध्यमहरुको तालिका समय समयमा सार्वजनिक गर्ने गरेको बताउनुभयो । प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले सञ्चारमाध्यमको अनुगमनका क्रममा देखापरेका सकारात्मक तथा नकारात्मक सामग्रीसम्बन्धी प्रस्तुती दिनुभयो । उहाँले पत्रकार तथा सञ्चारमाध्यमको काम,कर्तव्य र अधिकार तथा कारवाही र निर्णय प्रकृया,सूचीकरण र वर्गिकरणको कामबारे जानकारी दिनुभयो । बोहराले काउन्सिलमा हालसम्म अनलाइन १७४७,रेडियो तथा एफएम ८४० ,टेलिभिजन १५३ तथा नियमित पत्रिका ९१२ भैरहेको जानकारी दिनुभयो । उहाँले जनगुनासो र अनुगमन, उजुरी र कारवाही,खण्डन र सचेत,जानकारी र पर्छौटबारे पनि जानकारी दिनुभयो ।

बरिष्ठ पत्रकार तथा देशसञ्चार डटकम अनलाइनका सम्पादक युवराज घिमिरेले सरकारको निर्णय विरुद्ध पत्रकार सडकमा जानुपर्ने स्थिति देखा परेकाले मिडियाहाउसहरुले पनि आफुलाई नैतिकतामा बाँध्नका लागि गल्ति कमजोरीको लकबुक राख्नुपर्ने सुझाव दिनुभयो । आथिर्क दैनिकका सम्पादक प्रह्लाद रिजालले उजुरी गर्दा पहिले काउन्सिलमा आउनु पर्ने अनि मिडियामा जानुपर्ने पाटो अलिक नमिलेकाले पहिले पीडित पक्षबाटै मिडियालाई खण्डन गर्न लगाउनुपर्ने बताउनुभयो । रातोपाटी डटकमका सम्पादक ओम शर्माले काउन्सिलले गरेको अनुगमन आशालाग्दो भएको बताउनुभयो । कतिपय अनलाइनले समाचार कपी गरेर समस्या पारेकोे उहाँको भनाई थियो । थाहा खबरका प्रधान सम्पादक तीर्थ कोइरालाले समाचारमा शब्द चयन र भाषाको स्तर खस्केकाले यसलाई उकास्न राम्रो ज्ञानको आवश्यकता पर्ने बताउनुभयो ।
मिडिया एक्सन नेपालका लक्ष्मणदत्त पन्तले प्रस्तुतिमा आएका धेरै बिषयमा पत्रिकाले उल्लंघन गरेका सामग्रीहरु कम आएको बताउनुभयो । उहाँले अनलाइनमा भन्दा पछिल्लो समय पत्रिकामा पनि आचारसंहिता उल्लंघनका सामग्री बढेको तर काउन्सिलको रिपोर्टमा कम देखिएकाले आगामी दिनमा अझ राम्ररी हेर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य , प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य इश्वरी ओझा , प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनाल, प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहरा, नेपाल टेलिभिजनका महाप्रसाद लामिछाने, नेपाल समाचारपत्रका कपिल काफ्ले, जनता टेलिभिजनका राम कुमार एलन, कारोबार दैनिकका कुबेर चालिसे , गोरखापत्र दैनिकका नगेन्द्र सापकोटा, राजधानी दैनिकका सागर पण्डित, मध्यान्न दैनिकका मदन कुमार श्रेष्ठ, लोकान्तर डटकमका सुशील पन्त, नागरीकखबर डटकमका डण्ड गुरुङ, दी राइजिङ नेपालका विष्णु प्रसाद गौतम, सिआइएनका लिप्रसाद चन्द लगायत विभिन्न पत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनका सम्पादक तथा प्रकाशकहरुको सहभागिता रहेको थियो ।