आज हरिशयनी एकादशी तुलसी रोपण गर्ने दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको २७ गते शुक्रबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको हरिशयनी एकादशी तिथि राति २।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । विशाखा नक्षत्र बेलुका ६।३८ बजेसम्म रहनेछ । आज साध्य योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१७ मा छ भने सूर्यास्त बेलुका ७।०० बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् । आज हरिशयनी एकादशीव्रत लिने दिन हो । यसैगरी आज तुलसीको बिरुवालाई मठमा विधिपूर्वक सार्ने गरिन्छ । आजबाट चतुर्मासाको पनि आरम्भ हुन्छ । आजबाट चार महिनासम्म विष्णु भगवान् शेष शैयामा शयन गर्ने भएकाले यो समयमा भगवान्को नाम संकीर्तन एवं भागवत कथा श्रवणका निम्ति शुभ मानिन्छ ।

हरि अर्थात् विष्णु भगवान् शयन गर्ने समय भएकाले यस दिनलाई हरिशयनी भनिएको हो । एकादशी चान्द्र महिनाको एघारौँ दिन हो । यस दिन भगवान््को व्रत धारण, कथा श्रवणका साथै तुलसीको रोपण गरिन्छ । ज्येष्ठ शुक्ल एकादशीका दिन दल राखी हरिशयनी एकादशीमा रोपण गरेर हरिबोधिनी एकादशीका दिन विष्णु भगवान््सँग तुलसीको विवाह गर्ने शास्त्रीय विधान रहेको छ । यस एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ । तुलसी भक्ति ज्ञान र वैराज्ञको केन्द्रविन्दु हो । एकादशीमध्येको उत्तम एकादशी हरिशयनी हो । यस दिनबाट विष्णु भगवान्् चार महिनासम्म शयन गर्ने भएकाले यो समयलाई चतुर्मासा पनि भनिन्छ । आयु वृद्धिमा पनि तुलसीको विशेष महव रहेको छ । आयुर्वेदमा तुलसीलाई महौषधीको संज्ञा दिइएका छ । बाहिर कतै पवित्र स्थानमा उम्रिएको तुलसीको बिरुवालाई यस दिन मठमा सार्नु पर्दछ ।